बैशाख २०, २०८१ बिहीबार

झापामा पूर्वी नेपाल र उत्तर बंगालका व्यवसायीबीच छलफल

भद्रपुर । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमा पार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ ।

विर्तामोडस्थित होटल किङ्सबरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुई देशका उद्योगी-व्यवसायीबीच सीमा पार व्यवसायबाट कसरी दुबै देशलाई फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

अन्तरक्रियात्मक सो छलफलमा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नेतृत्वमा विभिन्न उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुका पदाधिकारी एवम् पर्यटन र होटल व्यवसायसम्बद्ध व्यवसायीहरुको सहभागिता थियो भने भारतका तर्फबाट इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) उत्तर बंगाल च्याप्टरका अध्यक्ष सञ्जय गोयलको नेतृत्वमा विभिन्न क्षेत्रका करिब दुई दर्जन उद्योगी–व्यवसायीहरुको सहभागिता थियो ।

छलफलमा नेपालका उद्योगी–व्यवसायीले नेपाली वस्तु निर्यात गर्दा निकै समस्या झेल्नु परिरहेको गुनासो गर्दै भारततर्फ सिर्जना हुने समस्या समाधानका लागि संस्थागत रुपमा सहजीकरण गरिदिन आईसीसीसँग आग्रह गरेका थिए ।

आईसीसी अध्यक्ष गोयलले भारत–नेपालबीच सदियौंदेखि व्यापारिक सम्बन्ध रहेको उल्लेख गर्दै व्यापार आदान–प्रदानका क्रममा आइपर्ने समस्या दुबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए । पूर्वी नेपाल र उत्तर बंगालबीच छोटो दूरी रहेको र निरन्तर आयात–निर्यात कारोबार रहँदै आएको भन्दै गोयलले यो सम्बन्धलाई थप उचाइमा पुर्याउनु पर्ने बताए । उनले दुबै भूगोलमा पर्यटनको प्रचुर संभावना रहेकोले पर्यटन आदान–प्रदानबाट पनि दुबै देशले लाभ लिन सक्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले भारतीय उद्योगी–व्यवसायीहरुको टोलीलाई स्वागत गरेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, पर्यटन व्यवसायी भविस श्रेष्ठ, बासुदेव बराललगायतले धारणा राखेका थिए भने आईसीसी सदस्य दिलीप दुगड, राजिव लोचनलगायतले सुझावहरु राखेका थिए ।

छलफल सकारात्मक भएको निष्कर्षसहित द्विपक्षीय छलफल र अन्तरक्रियालाई निरन्तरता दिने समझदारी भएको कार्यक्रम सञ्चालक उमेश डालमियाले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार  ३ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]