लिपुलेक विवादबारे आज सर्वदलीय–सर्वपक्षीय छलफल हुँदै
काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री के.पी.शर्मा ओलीले आज अपरान्ह ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ ।

लिपुलेकका सम्बन्धमा परामर्श गर्ने, भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने र नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा परामर्श गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
सर्बदलीय बैठकमा सहभागिताका लागि प्रधानमन्त्रीले सबै राजनीतिक दलका शीर्ष नेताहरुका साथै पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ ।यद्यपि नेपाल सरकारले यसअघि नै कालापानी क्षेत्र नेपालको भूभाग भएको भनि स्पष्ट गरिसकेको छ ।
भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएकोे बुधबार नै स्पष्ट गरिसकेको छ ।