जेष्ठ २७, २०८० शनिबार

बिर्तामोड वाणिज्य संघको भरोसाले व्यापारीलाई धोका

बिर्तामोड । बिर्तामोडको बुधबारे हटिया क्षेत्र पूर्ण रुपमा खाली गराईएको छ । सोमवार दिउँसो १२ बजेदेखि १० वटा डोजरले संरचना भत्काउन थालेको थियो । साँझ ५ बजेसम्म लगाएर हटिया क्षेत्रमा रहेका सटर, घरहरु पूर्णरुपमा भत्काइएको छ । व्यापारीलाई अन्तिम पटक गत शुक्रवार ठाउँ छोडिदिन माइकिङ समेत गरिएको थियो ।

बिर्तामोड नगरपालिकासँग आधिकारिक सम्झौता गरेका व्यापारीबाहेक पनि धेरै परिवार उक्त बजारमा व्यापार गर्दै आएका थिए । नगरपालिकाले ७० वटा सटर मात्रै सम्झौता गरेर दिएपनि कतिपय व्यापारीहरुले आफु खुशी संरचना निर्माण गरेको बुझिएको छ । व्यापारीहरुका बीचमा किनबेच पनि राम्रै चल्ने गरेको थियो ।

लामो समयदेखि विर्तामोड नगरपालिकाले घर, टहरा, संरचनाहरु हटाउन व्यापारीहरुलाई समय दिएको थियो । कानुनी रुपमा सबै प्रक्रिया पुरा गर्दासम्म व्यापारीले ठाउँ छोड्न मानेनन् । ठाउँ नछोड्नुको मुख्य कारण थियो, बिर्तामोड वाणिज्य संघको भरोसा । संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यापारीहरुलाई वैकल्पिक व्यवस्थापन नगरेसम्म हटाउन नदिने भन्दै विश्वास दिलाएका थिए । उनीहरुकै विश्वासमा बसेका व्यापारीलाई अन्त्यमा सामान जोगाउन धावधावा भयो । पूर्व भागबाट डोजरले घर भत्काउन थालेपछि व्यापारीहरुले आफ्नो सामानको सुरक्षा गर्न बाध्य भए । पूर्व भागमा बसोबास गर्नेहरुले घर भत्काउन नगरपालिकालाई सहमति दिएका थिए ।

नगरपालिकाले पठाएको डोजरलाई केहिबेर अवरोध गर्ने प्रयास पनि भयो । अवरोधका क्रममा बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष शिवाकोटी डोजरमाथि नै चढेका थिए । उनलाई जनप्रतिनिधीहरुले त्यसो नगर्न आग्रह गर्दै ओराले । संघको नेतृत्वमा बसेर व्यापारीलाई उल्टै अप्ठ्यारोमा पारेको धेरैले आरोप लगाएका छन् । व्यापारीहरुलाई बेलैमा ठाउँ छोड्न दिएको भए सामान जोगाउन सकस पर्ने थिएन, स्थानीय व्यवसायी भन्छन् – हिजोअस्ति हटाउनु भन्नेहरुलाई पनि हटाउन दिइएन । अन्तिममा नहटाई पनि भएन ।

गत साता व्यापारीको पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष न्यौपानले व्यापारिलाई उत्तेजित बनाउदै भिड्नलाई उक्साएका थिए । तर, सोमवार उनै न्यौपाने अग्रभाग देखिएनन् ।

उक्त क्षेत्रमा नगरपालिकाले नगर विकास कोषको लगानीमा बहुउद्देश्यीय व्यापारीक भवन निर्माण गर्दैछ । भवन निर्माणका लागि ९० प्रतिशत लगानीको ग्यारेन्टी समेत कोषले गरिसकेको छ । आइतवार कोषले नगरपालिकालाई पत्रचार गर्दै लगानी बारे स्पष्ट बनाएको थियो ।

ठाउँ छाडिदिन व्यापारीलाई नगरपालिकाले हदैसम्म आग्रह गरेको हो, नगरप्रमुख पवित्रा महतारा प्रसाईले भनिन्,– ‘बाध्य भएर मात्रै डोजर प्रयोग गरिएको हो । सबै व्यापारीहरुलाई पटक–पटक सूचित गरिएको थियो । नगरको विकासमा सहजै सहयोग गर्न मान्नुभएन । त्यसैले कानुन बमोजिम अघि बढेको हो ।’ मेयर प्रसाईले दलहरुको सहयोगमै अघि बढेको जानकारी गराउँदै नगर विकास कोषले उक्त स्थानमा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने प्रतिक्रिया दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले हटियाका संरचना भत्काउन स्थानीयवासीबाट कुनै अवरोध नभएको र डोजर चल्न थालेपछि आफ्ना सरसामान निकालेर लगेको जानकारी दिए । विगतमा पटकपटक सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले स्थानीय व्यवसायीलाई ती संरचना खाली गरिदिन छलफल र आह्वान गरेको थियो । तर व्यवसायीहरूले अर्को व्यवस्था नभएसम्म नहट्ने अडान राखेका थिए । डोजर चलाइएको स्थान वरपर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो ।

डोजर चलाउनु पूर्व नगरपालिकामा नगरका सबै वडाका ५४ जना जनप्रतिनिधिहरुले एकमतका साथ हटिया क्षेत्र खाली गराउनुपर्ने निर्णय गरेका थिए । सो निर्णय पश्चात समय निर्धारण गरिएको थियो ।

व्यापारीहरुका लागि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने नेकपा समाजवादी, राप्रपा, विप्लप समूहको माग थियो । सोही माग पुरा गर्न सिटी सेन्टरमा लैजाने प्रक्रियामा व्यापारीले नै अस्वीकार गरेका थिए । कुनै हालतमा ठाउँ नछोड्ने जनाएका व्यापारीहरुलाई डोजर चलाउन थालेपछि सामान झिक्न समय प्रदान गरिएको थियो ।

समाजसेवी रामबाबु प्रसाईंले आफ्ना पिता स्व.देवीप्रसादको नाममा १ बिघा ३ कट्ठा जमिन साप्ताहिक हाट लगाउन तत्कालीन अनारमनी गाविसलाई निःशुल्क दान गरेका थिए । उक्त जमिनमा करिब चार दशकदेखि बिर्तामोड बुधबारे हटिया लाग्दै आएको थियो । केहि वर्षयता उक्त स्थानमा दैनिक बजार लाग्र्दै आएको थियो ।

नगरपालिकाले २०७१ मा बुधबारे बजार व्यवस्थापन समितिको अगुवाइमा ७० वटा सटर निर्माण गरी भाडामा लगाएको थियो । करिब ५ कट्ठा जमिनमा ७० वटा सटर निर्माण गरिएका थिए । ती सटर पूर्वपट्टि करिब ६ कट्ठा जमिनमा स्थानीय व्यापारीले आफैं १ सय १० भन्दा बढी टहरा निर्माण गरी व्यवसाय गर्दै आएका थिए ।

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास

इजलास मिडिया प्रा. लि. द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सम्पादक : छेत्रलाल राजवंशी
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६३५०२८