बैशाख १३, २०८१ बिहीबार

झापाका सहकारीकर्मी भन्छन् – कर्जा नउठ्दा, बचत फिर्तामा समस्या

बिर्तामोड । झापामा सहकारी क्षेत्रका अगुवा र पत्रकारबीच जिल्लाको सहकारी अभियानमा देखिएका समस्या र चुनौति बारे छलफल भएको छ । सहकारी संवद्ध संस्थाहरुको आयोजनामा भएको छलफलमा पत्रकारहरुले सहकारीमा देखिएको विकृति सुधारका लागि सूझाव दिएका छन् ।

झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघले संयुक्त रुपमा आयोजना गरेको सहकारीको विद्यमान अवस्था, समस्या र चुनौति विषयक अभिमुखिकरणमा बृहत छलफल गरिएको छ । सहकारी क्षेत्रका अगुवाहरुले सहकारीमा समस्या नभएको भन्न नसकिने स्वीकार गरेका छन् । उनीहरुले सहकारीमा तरलता र सहकारी सञ्चालन कमजोरीका कारण समस्या आएको स्वीकार गरे । झापामा अधिकांश सहकारीहरुमा बचत फिर्ता गर्न कठिनाई भइरहेको, कर्जा लगानी हुन नसकेको सवाल उठेको थियो । पत्रकारहरुले सहकारी क्षेत्रबाट बचतकर्ताको बचत नै जोखिममा परेकोले चाँडोभन्दा चाँडो संस्थामा सुधार ल्याउन आग्रह समेत गरेका छन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीमा समस्या भइरहेको कुरा सत्य भएको बताए । सहकारीमा विभिन्न समस्या आइरहेकोले हल्ला चलेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न संघको तर्फबाट आवश्यक समन्वयको काम भइरहेको स्पष्ट पारेका छन् । नियतवश गलत गर्नेहरुलाई कारबाहीका लागि संघले नै माग गर्दै आएको उनको भनाई छ ।

अध्यक्ष ढकालले बचतकर्ताको बचत फिर्ता गर्न सहकारीका सञ्चालकहरुलाई जग्गा, गाडि बेचेर वा आफन्तसँग कर्जा लिएर पनि फिर्ता गुनेपर्र्ने बताएका छन् । उनले भने, हामीले बचतकर्तालाई बचत फिर्ता गर्नुको विकल्प छैन । समस्यामा रहेका संस्थाहरुले आवश्यक सहजीकरण गर्दै जानुपर्ने बताए ।

अभिमुखिकरण कार्यक्रममा ढकालले सहकारीहरु तरलताका कारण मात्रै समस्यामा नपरेको बताए । उनले संस्था सञ्चालनमा नीति नियम र विधि समेत लागु नगर्दा सहकारीहरु समस्यामा फस्दै गएको धारणा राखे । सहकारी सञ्चालकहरु पनि वेथितिको बाटोमा रहे सच्चिनुपर्ने उनको सुझाव छ । झापाको सहकारीहरुलाई मजवुद बनाउदै जाने प्रतिवद्धता व्यक्त गरेका ढकालले सदस्यमैत्री सहकारी नहुनु ठुलो चुनौति भएको धारणा राखेका छन् । ढकालले भने – ‘सहकारी र सदस्यहरुबीच सम्बन्ध बन्न नसकेकै कारण जोखिम आएको छ । साधारणसभामा सदस्यहरुसँग छलफलभन्दा धेरै नाफा सुनाउन केन्द्रीत हुँदा यस्तो अवस्था सिर्जना भएको हो ।’

यस्तै, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले सहकारीहरुमा समस्या रहेको कुरा सत्य भएको बताए । यसको मतलव सबै सहकारी समस्याग्रस्त छन् भन्ने होइन, उनले थपे । सहकारी दर्ता प्रक्रियाबाटै कडाई हुनुपर्ने उनको तर्क छ । सहकारी दर्ता गर्दा संघको सिफारिसबाट मात्रै प्रक्रिया अघि बढाउने हो भने धेरै समस्याहरु नआउने उनको भनाई छ । राज्यले सहकारी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अहिले समस्या आएको न्यौपानेको बुझाई छ । उनले सहकारीको संख्या नै धेरै भएकाले समस्या पनि बढ्दै गएको बताएका हुन् ।

सहकारी संघका सचिव भानु दंगालले सहकारीहरुमा बचत फिर्ता एकै पटक धेरै जनालाई गर्न नसकिने प्रतिक्रिया दिए । पत्रकारहरुले राखेको जिज्ञासामा दंगालले संसारमा कतै पनि एकैपटक धेरै सदस्यलाई बचत फिर्ता गर्न नसकेको जवाफ दिए । पत्रकारले एकैपटक संस्थाले धेरै सदस्यहरुको बचत रकम लिन सक्ने, फिर्ता गर्न नसक्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।

अभिमुखिकरणमा झापाको सहकारीहरुको समस्याका बारेमा जानकारी गराइएको थियो । उजुरी परेका समस्याहरुको सन्दर्भमा समेत चर्चा गरिएको कार्यक्रममा सहकारीका कर्मचारीहरुमाथि असुरक्षा बढिरहको जानकारी गराइयो । दमकमा कर्मचारीलाई कर्जा तिर्ने भन्दै घर बोलाएर अभद्र व्यवहार गरेको भन्दै आफुहरुले जिल्ला प्रशासनमा सुरक्षा माग गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा बिर्तामोडको मयुर सहकारी, सुरुङाको समाजसेवी सहकारी, लक्ष्मीपुर सहकारी र बुद्धशान्तिको एक सहकारीहरुको बद्मासीका बारेमा प्रश्न उठाइएको थियो । समाजसेवी सहकारीको छानविन भइरहेको बताइएको छ ।
कार्यक्रममा कतिपय सहकारीहरुले बचत फिर्ता गर्न नसकेको, कर्मचारीलाई दोष देखाएर सञ्चालकहरु उम्किरहेको, सञ्चालकहरुले अस्वभाविक कर्जा लिएको, एकराते व्याज भन्दै पैसा उठाइरहेको, बचत फिर्ता गर्न नसक्नेहरुले बजारमा पैसा उठाइरहेको लगायतका समस्याका बारेमा विषय उठान भएको थियो ।

कार्यक्रममा पत्रकारहरुले आर्थिक क्षेत्र जोखिममा हुने भएकाले अहिलेसम्म झापाको सहकारीलाई माया गरेको प्रतिक्रिया दिएका थिए । सहकारीहरुले अब पनि समस्याहरु सुल्झाउन नसके सदस्यहरुका समस्याहरु बाहिर ल्याउन बाध्य हुने अवगत गराए । समयमा समस्याको निरुपण नभए सतहमा आउने अधिकांश पत्रकारको भनाई थियो ।

सोही अवसरमा झापा जिल्ला सहकारी संघ र बचत तथा ऋण सहकारी संघका प्रतिनिधिले जिल्लाको सहकारीको वर्तमान अवस्था, चुनौतिका बारेमा सहजीकरण गरेका थिए ।

संघका उपाध्यक्ष महेन्द्र गिरीले सहकारी विरुद्ध व्यापक भ्रम छर्ने काम भइरहेको बताए । उनले आम नागरिक र सदस्यहरुमा सहकारीको वास्तविकतासँगै सकारात्मक सन्देश प्रवाह गर्न अभिमुखिकरण आयोजना गरेको जानकारी दिए । उनले सकारात्मक सन्देश प्रवाह गरेर सहकारीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै, सहकारीका अगुवा घनश्याम अधिकारीले झापाबाटै ऋण नतिर्नु भन्ने अभियान सञ्चालन भएकोमा दुख व्यक्त गरेका छन् । उनले ऋण नतिर्ने भन्नेहरुको अभियानमा लागेर ऋण नतिरे कारवाही हुने चेतावनी समेत दिए । उनले झापाका ५ प्रतिशत सहकारीहरुमा समस्या देखिएको जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]