चैत्र १६, २०८० शुक्रबार

बालविवाह रोक्न विवाह अगाडि १२ पास गर्नेलाई २० हजार

मकवानपुर – कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताउनुभयो ।

उहाँका अनुसार कैलाश–६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताउनुभयो ।

देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उहाँको भनाइ छ । अध्यक्ष मुक्तानले भन्नुभयो, “गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ ।”

सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताउनुभयो ।

कैलाश–६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठीक हुनेजस्तो लाग्ने गरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०८० बिहीबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]