बैशाख १३, २०८१ बिहीबार

हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनल सोमवार, चर्च ब्वाइजले भन्यो – आर्मीसँगको भेट दुर्लभ

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने भिडन्तमा छन् ।

यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा स्पर्धी रहेका यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् । भोलि सोमबार हुने फाइनल खेलमा दुवै टोलीले उपाधि रक्षा गर्ने आज रंगशालामा आयोजित प्रिम्याच कन्फरेन्समा दाबी गरे । आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनल खेलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो । आर्मीले सिक्किमसँग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको टोली हो ।

राम्रो टिमलाई पराजित गरेर आएपछि आर्मीका खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक नविन न्यौपानले बताए । फाइनल खेलमा आफ्ना नयाँ खेलाडीको अनुभव नभएकाले यसअघि गरिएको गल्ती सच्याएर उपाधि रक्षा गर्ने उनको दाबी छ । स्ट्राइकरको कमी र फिनिसिङ हुन नसकेको कमजोरी स्वीकार्दै उनले भने, ‘हाम्रा मिस्टेक सुधारेर ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा, साग र यु १९ मा रहेको बताउँदै चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जीत निकाल्ने उनले दाबी गरेका छन् ।

राम्रो टिमलाई पराजित गरेर फाइनलमा आएको चर्च ब्वाइजलाई कम आँक्न नमिल्ने बताएका उनले युवा खेलाडीले भरिएको चर्च ब्वाइजको सट पास खेल्ने कलालाई मार्क गरेको बताए । आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको प्लानिङलाई ब्रेक गरेर सिजनको पहिलो उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने सुनाए । आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो चौथो पटक फाइनल भिडन्त हो ।

यसैगरी चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु ठुलै अवसरका रुपमा लिएको बताए । उनले भने, ‘यो संयोगमात्र होइन, दुर्लभ भेट पनि हो ।’
आर्मीका नियमित तथा सिनियर खेलाडीको अभावले चर्च ब्वाइजले अवसरको रुपमा नलिने बताएका उनले आर्मीको खेलअनुसार रणनीति बनाउने सुनाए । खेलमा हार जीत स्वाभाविक ठानेका उनले ९० मिनेटभित्र जसले मिहेनत गर्छ उसैले उपाधि उचाल्ने पनि बताए । जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार पाउनेछ ।

प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]