बैशाख १४, २०८१ शुक्रबार

छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ वर्ष : न्यून भयो, समाप्त हुन सकेन

बिर्तामोड । नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको आज १७ वर्ष पुरा भई १८ वर्ष लागेको छ । ०६३ साल जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारिक रुपमा ठुलो परिवर्तन आएको पाइदैन ।
राष्ट्रलाई छुवाछूत मुक्त घोषणा गरियो, कानुन निर्माण गरेर विभेद गर्नेहरुलाई कारबाही गर्ने भनिए पनि अपेक्षाकृत परिवर्तन नआएको दलित अधिकारकर्मीहरुको भनाई छ । १७ वर्षमा कायापलट परिवर्तन हुनुपर्ने भए पनि छुवाछूतको अवस्था अझै डरलाग्दो भएको अधिकारकर्मीको प्रतिक्रिया छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलले छुवाछूत मुक्त राष्ट्र घोषणा भएपनि दलित समुदायले उत्साहित हुन सक्ने अवस्था अझै नबनेको बताउँछन् । उनले सोचे अनुसार परिवर्तन नभएको प्रतिक्रिया दिए । दलित मुक्ति आन्दोलनमा लामो समयदेखि क्रियाशिल पोर्तेलले १७ वर्षमा छुवाछूत समाप्त हुनुपर्ने बताउँछन् । उनले भने – ‘केहि हदसम्म न्यून भए पनि समाप्त हुन सकेको छैन । मुक्ति समाजका सचिव पोर्तेलका अनुसार राज्य नै जिम्मेवार ढंगबाट प्रस्तुत नभएसम्म परिवर्तन संभव छैन । विभेद गर्नेलाई दण्ड सजायमा कडाई गर्दै कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ ।’

सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछि परेको समुदायलाई अर्थपूर्ण सहभागिताका लागि राज्य जिम्मेवार हुनुपर्ने उनको बुझाई छ । शिक्षा, स्वास्थ्यमा कमजोर पहुँच भएको समुदायलाई गरिवीबाट माथि उठाउनुपर्ने पोर्तेलको तर्क छ ।
यस्तै, एमालेका युवा नेता टिकाराम मंग्रातीले अहिले पनि उत्पीडित समुदायले न्याय पाउन नसकेको बताएका छन् । उनले उत्पीडित समुदाय अझै विभेदबाट मुक्त हुन नसकेको बताए ।

इजलाससित कुरा गर्दै उनले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन राज्य पक्ष बलियो नदेखिएको प्रतिक्रिया दिए । संविधानले समानुपातिक सहभागिताको अवधारणा ल्याए पनि दलित समुदायको प्रतिनिधित्वलाई अर्थहिन बनाउन खोजेको उनको आरोप छ । नेता मंग्रातीले स्थानीय तहमा दलित महिला सहभागिता अनिवार्य गरिए पनि प्रभावकारी र जिम्मेवार बन्न नदिएको धारणा राखे ।

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले छुवाछूतको अवस्था पुरानै अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् । उनले समाजमा छुवाछूतको अवस्थामा हिजोको जस्तो नरहेको बताए । सभापति थेवेले दलित समुदायको निमित्त हरेक क्षेत्रमा सहभागिताका लागि प्रोत्साहन गर्दै आएको जिकिर गरे ।

नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले विगतमा भन्दा परिवर्तन भएको बताए । उनले बाहिर र भित्रको अवस्था हेर्दा भने फरक रहेको प्रतिक्रिया दिए । उनले बाहिर विभेदको व्यवहार प्रकट नगरे पनि भित्रि रुपमा विभेदजन्य काम भइरहेको बताएका छन् । अध्यक्ष कार्कीले मानसिक रुपमा तयार नभएसम्म विभेद्लाई पूर्ण रुपमा हटाउन अप्ठ्यारो हुने तर्क गरे । उनले होटल र घरमा व्यवहार फरक भइरहेको बताएका छन् । जातपात केहि होइन, हामी सबै समान हो भन्ने चेतना फैल्याउन आवश्यक रहेको भन्दै अध्यक्ष कार्कीले सामाजिक रुपमा नेतृत्वकर्ताहरुबाटै यसको सुरुआत हुनुपर्ने बताए ।

राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले शिक्षित र सुगम ठाउँमा छुवाछूत हट्दै गएको जानकारी दिए । उनका अनुसार साक्षर अवस्था कमजोर भएको र दुर्गम ठाउँहरुमा अहिले पनि विभेदजन्य घटनामा कमि नआएको बताए । राज्य नै छूवाछुत विरुद्ध कडाईका साथ लाग्नुपर्ने भन्दै उनले उत्पीडित समुदायलाई मुल प्रवाहमा ल्याउनुपर्ने सूझाव दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]