बैशाख ११, २०८१ मंगलबार

आर्मी च्याम्पियन

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनल खेलमा स्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए ।

आर्मीका लागि पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको अन्त्यतिर दुवै टोली आक्रामक बन्दा कार्डको वर्षा भएको थियो । ८० मिनेटको निर्धारित खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो । ५८ र ८३ मा दोहोरो पहेँलो कार्ड पाउँदै चर्च ब्वाइजका राजेन्द्र रावल मैदान छाड्न बाध्य भए । आर्मीका ३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

खेलको ३२औँ मिनेट आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गोल गर्दै अग्रता दिलाएका थिए । देब्रे साइडबाट टंक बस्नेतले मिलाइदिएको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका उनले ग्रास सुट गर्दै गोल गरेका थिए । त्यस्तै, टेकबहादुर बुढाथोकीकै एक्लो प्रयासमा खेलको ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठसँग वान भर्सेज वानमा बललाई दोस्रो बारतर्फ चिप गर्दै उनले गोलपोस्टको दिशा दिएका हुन् ।
यसअघि खेलको २५औँ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले गोल गर्ने अवसर गुमाएका थिए । आर्मीका गोलरक्षक विवश चौधरीसँग वान भर्सेज वानमा सुनिलले प्रहार गरेको बल खेर गएको थियो ।
खेलको उत्कृष्ट गोलरक्षक आर्मीका गोलरक्षक विवश चौधरी घोषितहुँदा चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक घोषित हुँदा आर्मीकै टंक बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भए ।

फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषितहुँदै पुरस्कृत भए । गोल्डकपकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षकमा आर्मीकै नविन न्यौपाने घोषित भए ।

विजेता आर्मीले नगद १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद ६ लाख २५ हजार पुरस्कार पाए । विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले नगद तथा ट्रफी प्रदान गरे ।

प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]