बैशाख ७, २०८१ शुक्रबार

गैर नेपालीलाई नागरिकता दिने झापा कारागार चलान

भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कारागार चलान भएका अभियुक्तहरुमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका वडा नं. ८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भिमबहादुर लिम्बु, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज घर भई विर्तामोड–८ मा डेरा गरी बस्ने मुस्तफा आलम रहेका छन् ।
गैर–नेपालीहरुलाई झुठा विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौंबाट समेत छानविन भएको थियो ।

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको थियो भने अभियोग लागेका भद्रपुर र विर्तामोडका दुई जना वडा अध्यक्षहरु फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्तहरुले मिलिभिगत गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएका थिए । उक्त नागरिकताविरुद्ध उजुरी परेपछि गृह मन्त्रालयले नै चासो राखी छानविन अघि बढाउन निर्देशन दिएको थियो । सो घटनामा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल र खरिदार तेजिन्द्र न्यौपानेको प्रत्यक्ष संलग्नता छानविनले ठहर गरेको थियो । प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो भने ढुङ्गेल अझै फरार छन् ।

झुठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गर्दै ९ जनालाई नेपाली नागरिकता दिलाउन सनाखत गराइएको थियो । त्यसरी नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ, लोब्सान गुरुङ लगायत छन् ।

प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार  ५ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]