बैशाख ८, २०८१ शनिबार

झापामा स्ट्रबेरीको व्यावसायिक खेती सुरु

भद्रपुर – झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती सुरु गरिएको छ। काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती सुरु गरेको हो। गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए।

strobery

उनका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोप्न थालिएको छ। प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको यहाँ गरिएको परीक्षण सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको जानकारी दिँदै प्रमुख तिम्सिनाले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको बताए। कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन सुरु गरिए पनि हालसम्म तीन लाख बिरुवा लगाइएको र आठ लाख ५० हजार बिरुवा लगाउन तयारी भइरहेको उनको भनाइ थियो।

मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने उल्लेख गर्दै प्रमुख तिम्सिनाले भने, ‘हाल बजारमा यसको मूल्य प्रतिकिलोग्रामको ८०० देखि एक हजार रुपैयाँसम्म छ। उत्पादन सुरु भएपछि ६०० मूल्य निर्धारण गरेर बिक्री गर्नेछौँ।’

१० करोड रुपैयाँभन्दा बढीको लगानीमा सुरु गरिएको यस खेतीमा हाल १००भन्दा बढीले रोजगारी पाएका छन्। विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको प्रालिले यस वर्षदेखि कृषिमा समेत लगानी सुरु गरेको कम्पनीका लेखापाल विजय पाठकले बताए। उक्त कम्पनीले ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा समेत यसवर्ष १० रोपनी जग्गामा परीक्षणको रुपमा स्ट्रबेरी खेती लगाएको छ। उनका अनुसार कम्पनीले झापाको बाह्रदशी गाउँपालिकाभित्रै २१० बिघा जमीन खरीद गरेर व्यावसायिकरूपमा प्राङ्गारिक फलफूल र तरकारी खेती गर्न सुरु गरेको छ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]