जेष्ठ ४, २०८१ शुक्रबार

झापा जिल्ला सहकारी संघले ऋण असुली गर्न पालिकासँग सहयोग माग्यो

बिर्तामोड । सहकारीहरुले ऋण लगानी असुलीका लागि स्थानीय तहको सहयोग मागेका छन् । झापाका स्थानीय तहहरुलाई संघले पत्रचार गर्दै सहयोग मागेको हो ।

सहकारी संघ संस्थाको ऋण नियतवस नतिर्ने, नतिर्नका उर्दि गर्नेका विरुद्ध पालिकाहरुलाई सहजीकरणका लागि सूचना प्रकाशन गरिदिन झापा जिल्ला सहकारी संघले आव्हान गरेको छ । अध्यक्ष गणेश ढकाल र सचिव भवानी दंगालद्वारा हस्ताक्षरित पत्रमा ऋण लिएर नतिर्नेहरुलाई सरकारी सेवाबाट बञ्चित गर्ने र कानुनी कारवाहीसम्म हुने गरी सूचना प्रकाशन गर्न भनिएको छ ।

झापा जिल्ला सहकारी संघले अराजक र स्वार्थ समूहले आर्थिक संकटको फाइदा उठाउदै सहकारीहरुमाथि प्रहार गरेको दावी गरेको छ । ऋण दिने सहकारीहरुलाई नै धरासयी बनाउने गरी ऋण नतिर्ने, नतिर्न उर्दि गर्ने, व्याज महंगो भयो भन्दै सदस्यहरुलाई भ्रममा पार्ने काम भइरहेको संघको ठहर छ ।

संघले गलत कार्य गर्ने, उक्त कार्य गर्न प्रोत्साहन गर्ने, ऋण नतिर्नेहरु कानुनतः दण्डनीय हुने जनाएको छ ।
सहकारी संस्थाबिना नागरिकको वित्तिय पहुँच नहुने, वित्तिय साक्षरता एवम् एकता नहुने भन्दै संघले पालिकाहरुलाई ऋणको साँवा व्याज भुक्तानीका सूचना प्रकाशन गर्न आग्रह गरेको छ ।

झापाको सुरुङास्थित भगवती सहकारीले एक ऋणीलाई कर्जाको साँवाव्याज बुझाउने बारे लेखिएको पत्र सामाजिक सञ्जालमै सार्वजनिक गरेको छ । सहकारी संघ र सहकारी संस्थाहरु ऋण असुलीका लागि आक्रामक भएर लागेका छन् । केहि पालिकाहरुले संघको माग बमोजिमको सूचना नै प्रकाशित गरिसके ।

जिल्लामा केहि सहकारीहरुले बचत समेत फिर्ता नदिएको गुनासो बढिरहेको बेला संघले ऋण असुलीका लागि स्थानीय तहहरुको सहयोग मागेको छ । बचत फिर्ताका लागि सदस्यहरुले आ–आफ्नो सहकारीमा ताकेता गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : असार १८, २०८० सोमबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]