बैशाख ६, २०८१ बिहीबार

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्बाङ

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता एवंम संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्बाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन् ।

इलामको माङ्सेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कुटनीतिक पहल समेत अघि बढाएको बताए । कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपाली भूमी हो, उनले भने – यस सम्बन्धमा संघीय सरकारले कुटनीतिक पहल थालीसकेको छ भने भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।

एक अर्को प्रसंगमा मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्बाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेको भन्दै उनले त्यसका लागि नेपाली जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिहरुले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागि परेको बताए ।

नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद् धिरेन्द्र शर्मा (रमण) ले नेकपा नेतृत्वको सरकार जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउँदै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा अघि बढेको बताए । केन्द्रीय सदस्य रमणले इलामको पश्चिमी क्षेत्र त्यसमा पनि माङ्सेबुङ गाउँपालिका केही बर्ष अघिसम्म इलामको कर्णाली भनिने गरेको भएपनि आजसम्म आइपुग्दा विकासको एउटा उचाई हासिल गरेको र उक्त उपनाम नसुहाउने उनको धारणा छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद् रामबहादुर मगरले कम्युनिष्ट पार्टी मात्रै जनताको पार्टी र सुख, दुःखको साथी भएको बताए । हामी समाजवादी राज्य व्यवस्था निर्माणमा अघि बढेका छौं, उनले हाम्रो पार्टीको नेतृत्वमा बनेका तिनै तहका सरकारहरुले यसैलाई मध्यनजर गरेर काम गरिरहेका छन् ।

यसैगरी जिल्ला समन्वय समिति इलामका प्रमुख एवं नेकपा इलामका सचिवालय सदस्य गणेशप्रसाद बरालले कृषि र पर्यटनलाई माध्यम बनाएर इलाम जिल्लाको समृद्धिको यात्रामा निरन्तर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नेकपा माङ्सेबुङ गाउँ कमिटी अध्यक्ष हेमन्त राईको अध्यक्षता र नेकपा स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष नेम्बाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, संघीय समाजवादी, राप्रपा, जनमोर्चा, लिम्बुवान र जनमुक्ति पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेशको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]