बैशाख १६, २०८१ आईतबार

एनआईसी बैंक चन्द्रगडीले रकम खोज्न तदारुकता नदेखाएको पीडितको गुनासो

भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका छन् ।

खाताबाट रकम चोरी भएको एक साताभन्दा बढी समय बितिसक्दा र सो सम्बन्धी जानकारी गराउँदा पनि बैंकले रकम खोजीमा चासो नदेखाएर पन्छिन खोजेकोजस्तो देखिएको अधिकारीले बताए ।

जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा एनआईसी बैङ्कमा रहेको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पट–पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ चोरी भएको थियो ।

चोरी भएको रकम खोजीका लागि आफू नै सबैतिर भौंतारिरहेको बताउँदै पीडित अधिकारीले बैंकको तर्फबाट प्रहरीसमेतलाई जानकारी नदिइएको आफूले पाएको बताएका छन् । अधिकारी आफैंले प्रहरीमा उजुरी गरेको उल्लेख गर्दै बैंकका तर्फबाट रकम खोजीका लागि भइरहेका काम–कारवाहीका बारे बुझन खोज्दा चित्तबुझ्दो जवाफ नपाएको गुनासो गरे । ‘आफ्नो ग्राहकको त्यति ठूलो रकम गायब भएको छ’, अधिकारीले आक्रोशित हुँदै गुनासो पोखे– ‘ग्राहकको रकम सुरक्षित गर्ने दायित्व बैंकको हो कि होइन ? हामी गर्दैछौं मात्र भनेर पन्छिन मिल्छ ?’

यसै विषयमा जानकारी लिन गत आइतबार पीडित अधिकारीका साथमा झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्वल राई, संघका विशिष्ट मानाार्थ सदस्य आदित्य पराजुली, विशिष्ट सदस्य खड्कबहादुर लिम्बू, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठलगायत उद्योगी–व्यवसायीको एक प्रतिनिधिमण्डल एनआईसी एशिया बैंकको चन्द्रगढी शाखा पुगेको थियो । त्यहाँ टोलीले बैंकका उपक्षेत्रीय प्रमुख देनराज सुब्बासँग छलफल गरेको थियो । तर, सुब्बाले ठोस जानकारीहरु नदिएको पििडत अधिकारीको भनाइ छ ।

बैंकका तर्फबाट हालसम्म पनि लिखित रुपमा स्थानीय प्रहरीलाई उजुरी नदिएको पाइएको झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्वल राईले बताए । ‘यो घटनालाई बैंकले आफ्नो दायित्व नै होइन, सबै कुरा ग्राहक स्वयम्ले गर्नुपर्नेजस्तो गरी बैंक प्रस्तुत भएको छ’, राईले भने– ‘उहाँहरुको प्रस्तुति गैरजिम्मेवार र आपत्तिजनक छ, यस्तै हो भने बैंकसँग जनताको विश्वास रहँदैन ।’

झापाका प्रतिष्ठित उद्योगी तथा संघका विशिष्ट मानार्थ सदस्य आदित्य पराजुलीले बैंकको खाताबाट चोरी भएको रकम खोजी गर्ने अग्रसरता बैंकले नै लिनुपर्ने बताउँदै अनुसन्धानका लागि आफूहरुले सहजीकरण मात्र गर्नसक्ने बताए । उनले रकम नभेटिए त्यसको दायित्व बैंकले लिनुपर्ने र ग्राहकको खातामा उक्त रकम जम्मा हुनुपर्ने जिकीर गरे । ‘अन्यथा बैंकविरुद्ध सबै उद्योगी–व्यवसायी एकजुट भएर आन्दोलन गर्नुको विकल्प नरहन सक्छ ।’

पीडित अधिकारीले चोरी भएको रकम खोजी गर्न र भइरहेको प्रगतिका बारे लिखित जानकारी दिन आइतबार नै दुई दिनको म्याद दिइएको तर सो अवधिमा पनि बैंकले त्यस्तो कुनै लिखित जवाफ नदिएको अधिकारीको भनाइ छ ।
पीडितका तर्फबाट बैंकको खाताबाट चोरी भएको रकम खोजीका लागि पहल गरिदिन झापा उद्योग वाणिज्य संघलाई समेत पत्राचार गरेको बताइएको छ ।

प्रारम्भिक जानकारी अनुसार उक्त खाताको रकम केही मानिसहरुको खातामा ‘ट्रान्सफर’ भएको पाइएको स्रोतले बताएको छ । पीडितले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिइसकेका छन् भने केन्द्रीय अनुसन्धान व्यूरोमा पनि उजुरी हालिएको छ ।

प्रकाशित मिति : असार २१, २०८० बिहीबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]