झापाका अग्रज पत्रकार पाठकलाई प्रेस चौतारीको सहयोग
बिर्तामोड । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले उपचाररत अग्रज पत्रकार नेत्र पाठकलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पत्रकार पाठक प्रेस चौतारी झापाको प्रथम अध्यक्ष हुन् ।
उपचारपश्चात आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका पाठकलाई प्रेस चौतारी झापाले नगद ५१ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको छ । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोष र पत्रकारहरुबीच संकलित उक्त रकम सोमवार बिर्तामोडस्थित निवासमा पुगेर हस्तान्तरण गरेको संगठनका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
पाठकलाई प्रेस चौतारीका साविक मेची अञ्चल कमिटीका सचिव सुव्रत न्यौपानेको संयोजकत्वमा सहयोग संकलन गरिएको हो ।
बिर्तामोड – ४ मेथीबारी टोलस्थित पाठकको निवासमा पुगेर धर्मपत्नी श्रीमती सीता पाठकलाई उक्त रकम हस्तान्तरण गरिएको न्यौपानेले जानकारी दिए ।
उपचाररत पाठकको स्वास्थ्य लाभको कामना गर्न संयोजक न्यौपाने, चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, इन्चार्ज सन्तोष आचार्य, पूर्वअध्यक्ष गोपाल काफ्ले, प्रदेश कमिटी सदस्य रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदीप परियार, जिल्ला सहसचिव तिलक योञ्जन, पत्रकार प्रेम आचार्य र पुष्प बराललगायतले निवासमा पुगेका थिए ।
दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याको उपचार गर्दै आएका पाठक दुई वर्षदेखि घरमा आराम गरिरहेका छन् ।