बैशाख १६, २०८१ आईतबार

सदस्यलाई बुझाउन नसकेको महसुस भयो, आकस्मिक बैठक बस्दैछौं : सीइओ उप्रेती

करिव ६० हजार सदस्यको खाताबाट एनएमसीले झिक्यो ७ सय

– प्रदीप परियार 

बिर्तामोड । सदस्यहरुको अनुमति विना एनएमसीले खाताबाट ७ सय रुपैयाँ सदस्य कल्याणकारी जम्मा गरिदिएको छ । एनएमसीको उक्त निर्णयका विरुद्ध व्यापक आलोचना भइरहेको छ । कतिपयले समर्थन समेत जनाइरहेका छन् ।
एक लाख ५० हजार हाराहारी सदस्य रहेको एनएमसीले करिव ६० हजार सदस्यको खाताबाट कोषमा ७ सय जम्मा गरेको कार्यकारी प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार प्रस्तावित सदस्यहरु, संस्थागत र ७ सय रुपैयाँ झिक्न नसकिने खाताका सदस्यहरु उक्त कोषमा समावेश गरिएको छैन ।

एनएमसीले ७ सय रुपैया कोषमा जम्मा गरेको विषयलाई लिएर सदस्यहरुले सामाजिक सञ्जालमा व्यापक गुनासो पोखिरहेका छन् । गुनासो र आलोचना बढेपछि एनएमसीको आकस्मिक बैठक बस्दैछ । बैठकले कोषका सन्दर्भमा अब कसरी जाने भन्ने बारे छलफल गर्ने कार्यकारी प्रमुख उप्रेतीको भनाई छ ।

सदस्य कल्याणकारी कोषमा ७ सय रुपैयाँ योगदान गर्ने सदस्यको मृत्यु भएमा ५० हजार र सदस्यको बुबाआमा वा छोरीछोरीको निधन भएमा १० हजार राहत पाउने छन् । राहत पाउने विषय भए पनि सदस्यहरुले किन अनुमति विना रकम कोषमा जम्मा गरियो भन्ने प्रश्न उठाइरहेका छन् ।

एनएमसीका कार्यकारी प्रमुख उप्रेतीले सदस्यहरुको हितमा ठुलो क्रान्ति गरेको बताए । उनले भने – धेरै प्रयासबाट यो काम अघि बढाइए पनि सदस्यहरुलाई बुझाउन सकेनौं । कार्यान्वनयन गर्नेले मात्र बुझेर नहुने रहेछ भन्ने लागेको छ । उप्रेतीले कोषले दिने सुविधाबारे सदस्यलाई राम्रोसँग बुझाउन नसकेको स्वीकार गरे । उनले भने, यसअघि पनि कोष सञ्चालनमा थियो । तर, सबैका लागि थिएन । अहिलेको व्यवस्थाले सबै सदस्यहरु कोषमा समावेश गर्ने हो ।

सदस्यको हितका लागि भए पनि पर्याप्त गृहकार्य नभएको भन्ने महसुस भएको छ, उप्रेतीले भने – आज बस्ने बैठकले पक्कै केहि निकास दिनेछ । यो अनुमति विना भन्दा पनि कार्यविधि मार्फत साधारणसभामा स्वीकृत गर्ने विषय भएको उप्रेतीले स्पष्ट बनाएका छन् ।

उनले आज बस्ने बैठकले कोषबारे तल्लो तहसम्म सदस्यलाई कसरी बुझाउने, केहि समयका लागि पछि धेकेल्ने, स्थगन गर्ने वा परिमार्जन गर्ने भन्ने एजेण्डामा छलफल गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]