बैशाख १५, २०८१ शनिबार

एनएमसीको पठायो अर्को म्यासेज

झापा । झापाको काँकरभिट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले अनुमति विना सदस्यहरुको खाताबाट कोषमा जम्मा गरेको ७ सय रुपैयाँ फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको सञ्चालक समितिको बैठकले उक्त रकम सदस्यहरुकै खातामा फिर्ता गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर प्रसाद शिवाकोटीले जानकारी दिए । सदस्यहरुको गुनासो र असहमतिका कारण उक्त निर्णयबाट पछि हटेको अध्यक्ष शिवाकोटीको भनाई छ ।

सोमवार आफ्ना सदस्यहरुलाई साढे ६ बजे एनएमसीले म्यासेज पठायो । सदस्यज्यू, तपाईँको खाताबाट संस्थाको सदस्य कल्याणकारी कोषमा आर्थिक वर्ष २०८०-८१ का लागि रु.७००/– योगदान भएको छ । योगदानमा सहभागी हुन नचाहेमा २०८० साउन मसान्तभित्र नजिकैको कार्यालयमा सम्पर्क गर्न जानकारी गराइन्छ । यो निर्णय एनएमसीले २४ घण्टा थाम्न सकेन । सोमवार पहिलो म्यासेज गरेको एनएमसीले मंगलवार साँझ पौने ८ बजे अर्को म्यासेज पठायो । सदस्यज्यू, सदस्य कल्याणकारी कोषमा तपाईंको खाताबाट योगदान भएको रकम रु. ७००/– फिर्ता गरिएको छ ।

अब एनएमसीको सदस्यहको मृत्यु राहत र शुद्धाई खर्च साविककै व्यवस्था अनुरुप प्रदान गरिनेछ । संस्थाले ५ हजार भन्दा माथि शेयर हुने सदस्यहरुका लागि मृत्यु राहत ५० हजार , दीर्घरोग उपचारमा २५ हजार, परिवारजनको मृत्युमा शुद्धाई खर्च १० हजार, प्राकृतिक प्रकोपमा २५ हजार , दुर्घटना उपचार खर्च वापत १० हजार उपलब्ध गराउदै आएको जनाएको छ ।

डेढ लाख हाराहारी सदस्य रहेको नेपालकै ठुलो सहकारी मानिने एनएमसीले सदस्यहरुसँग अनुमति नलिई सात सय रुपैयाँ कोषमा जम्मा गर्ने हुँदा आलोचना र विरोध थाम्नै सकेन । उक्त कोषका लागि संस्थाले करिव ६० हजार सदस्यको सात सय रुपैयाँ कोषमा जम्मा गरेको थियो ।

संस्थाका कार्यकारी प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले प्रस्तावित सदस्यहरु, संस्थागत र ७ सय रुपैयाँ झिक्न नसकिने खाताका सदस्यहरु उक्त कोषमा समावेश नगरिएको जानकारी दिए । अनुमति विना पैसा जम्मा गरेको भन्दै व्यापाक आलोचना भएको थियो ।

सदस्य कल्याणकारी कोषमा ७ सय रुपैयाँ योगदान गर्ने सदस्यको मृत्यु भएमा ५० हजार र सदस्यको बुबाआमा वा छोरीछोरीको निधन भएमा १० हजार राहत पाउने व्यवस्था छ । राहत पाउने विषय भए पनि सदस्यहरुले किन अनुमति विना रकम कोषमा जम्मा गरियो भन्ने प्रश्न उठाए ।

उप्रेतीले कोषले दिने सुविधाबारे सदस्यलाई राम्रोसँग बुझाउन नसकेको स्वीकार गरे । उनले भने, यसअघि पनि कोष सञ्चालनमा थियो । तर, सबैका लागि थिएन । अहिलेको नयाँ व्यवस्थाले सबै सदस्यहरु कोषमा समावेश हुने अवस्था बनेको थियो ।

संस्थाले ७ वर्षमा विभिन्न शिर्षक अन्तर्गत सदस्य र सदस्यको परिवारजनमा ११ करोड ३३ लाख ४८ हजार ९ सय ९८ रुपैयाँ प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]