जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारामा क्यान्सर सम्बन्धी सचेतना

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्याम्सरसम्बन्धी सचेतना कार्यक्रम बोल्दै नगर प्रमुख गोम्देनले लापरबाही र असावधानीका कारण प्राणघातक रोगको सामना गरिरहनु परेको बताए । क्यान्सर रोगलाई जितेर नगरबासी फेरि रोजगारमा फर्कनसक्ने वातावरण तयार गर्न नगरले कार्यक्रम ल्याउने नगर प्रमुख गोम्देनले कार्यक्रममा प्रतिवद्धता जनाए । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनले गुणस्तरीय सेवा पाएको पनि सुनाए ।

आफ्ना बुवा र आमा पनि क्यान्सर रोगको उपचार गरेको स्मरण गर्दै उनले त्यसताका भारतको क्यान्सर अस्पतालले पनि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा सिफारिस गरेका उदाहरण दिए । उनले पूर्वाञ्चलसँग क्यान्सर रोगविरुद्ध सहकार्य गर्न पनि इच्छा व्यक्त गरे । अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालले उपचारमात्र नभएर सचेतना र रोकथामका लागि अनेकन् प्रयास गदैै आएको सुनाए । क्यान्सर रोगसम्बन्धी सचेतना गरेर पनि ६० प्रतिशत रोकथाम गर्न सकिने उनको जोड थियो । क्यान्सर रोगको बारेमा विभिन्न तथ्यमाथि प्रकाश पार्दै डा. यादवले विश्वमा सबैभन्दा बढी दुर्घटना र मुटु रोगबाट मृत्यु हुने तथा तेस्रो स्थानमा क्यान्सर रोगको स्थिति भयावह रहेको चित्रण गरे । बर्सेनि रोगीको संख्या बढ्दै गएको बताउँदै उनले झापा नेपालको दोस्रो स्थानमा रहेको पनि सुनाए ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भारतमा हुने क्यान्सर रोगको उपचार अहिले झापाको बिर्तामोडबाटै भइरहेको बताए । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा नागरिक उपचार कोषमार्फत उपचार भइरहेको जानकारी दिए । झापाका स्थानीय तहमा सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै उनले स्थानीय तहसँग अस्पतालले सहकार्य तथा हातेमालो गर्न तयार रहेको पनि बताए ।

सोही कार्यक्रममा क्यान्सर रोगसँग बाँच्नका लागि संघर्ष गरिरहेका बिरामीसँग भेटघाट कार्यक्रम पनि राखिएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत १४ जना कार्यक्रममा सहभागी थिए । सहभागी अर्जुनधारा ३ की हेमकला श्रेष्ठले क्यान्सर रोगबाट मरिन्छजस्तो लागे पनि हिम्मत हार्न नहुने भन्दै आफ्नो अनुभव सुनाएकी थिइन् । अस्पतालकी निर्देशक डा. अञ्जली कार्की प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमार राई, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत स्वास्थ्यकर्मी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]