बैशाख ३०, २०८१ आईतबार

झापामा भारु पैसाको कारोवारमा कठिनाई

बिर्तामोड । झापाको बिर्तामोडमा अहिले व्यापारीहरु भारतीय रुपैयाँ लिन मान्दैनन् । एक बेला भारु कति छ ल्याइदिनु भन्ने व्यापारीहरु यतिबेला भारु देख्नासाथ तर्सिने स्थिति बनेको छ । बजारमा भारतीय रुपैयाँको विगविगी छ । तर, कारोवारमा भारुको प्रयोग कठिनाइ भइरहेको व्यापारीहरु बताउँछन् ।

भारतीय बजारमा कुनै काम विशेषले जानु परे एक हप्तादेखि भारुको सटही गर्न सुरु गर्नुपर्ने बिर्तामोडमा अहिले भारु फालाफाल छ । बिर्तामोडमा मात्र होइन, देशभर भारतीय रुपैयाँको अवस्था उस्तै छ । सीमा क्षेत्रका बजारहरुमा खुलेका क्यासिनो, भारतीय पर्यटकको संख्या बढ्नु र नेपाल-भारतको व्यापारले भारतीय रुपैयाँको चाप बढ्दै गएको बुझाई छ । केहि समयअघिसम्म बढि रुपैयाँ तिरेर भारु खरिद गर्नुपर्ने अवस्था थियो, अहिले जवरजस्ती दिन खोज्दा लिने कोही छैन, एक व्यापारी भन्छन् । उनले थपे, पहिले बट्टा पाइन्थ्यो, अहिले उल्टो भएको छ ।

 

नेपालले २०४९ फागुन १ गतेदेखि भारतीय रूपैयाँ एक सयको विनिमय दर एक सय ६० रूपैयाँ राखेर कारोवार गर्दै आएको छ । तर, अहिले भारु १ सय रुपैयाँ १५० देखि १५० सम्म मात्रै कारोवार भइरहेको छ । भारतीय रुपैयाँको मुल्य घटेको प्रचार पनि उत्तिकै छ, व्यापारी भन्छन्, घटेको पैसा लिन वा दिन गाह्रो पर्छ । बिर्तामोड भद्रपुर रोडमा सुनिता ग्रोसरी सञ्चालन गर्ने सुनिता भण्डारीले भारु पैसा कारोवार गर्न कठिनाई भइरहेको बताइन् । उनका अनुसार आफुले व्यापारीलाई सामानको पैसा बुझाउदा भारु ५ सय नेपाली ७५० मात्रै कारोवार हुन्छ । यता, खुद्रा ग्राहकलाई १ सय भारुको १६० कै सामान दिनुपर्ने बाध्यता हुँदा समस्या छ । उनले बजारमा भारतीय रुपैयाँका कारण कारोवारमा कठिनाइ भइरहेको स्वीकार गरिन् ।

यस्तै, कृषिथोकका व्यापारी खगेन्द्र महतोले भारतीय रुपैयाँको कारोवार मनपरी भइरहेको बताए । उनले भारु १ सय रुपैयाँको नेपाली १५१ देखि १५३ सम्म चलिरहेको जानकारी दिए । कतिपय व्यापारीहरुलाई कारोवारमा प्राप्त भारतीय रुपैयाँको व्यवस्थापनमै कठिनाई भइरहेको छ ।

बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले भारतीय रुपैयाको कारोवारमा जटिलता भएको बताए । विभिन्न होहल्लाका कारण बजारमा भारतीय रुपैयाँको कारोवारमा कठिनाई भएको उनको भनाई छ । उनका अनुसार अहिले बजारमा भारतीय रुपैयाँ कसैले लिने अवस्था छैन । भारु लिनेहरुले पनि मुल्य घटाएर मात्रै लिइरहेका छन् । भारु पैसाको कारोवारमा गत मंसिरदेखि समस्या भइरहेको उनको भनाई छ । मैनालीले भने – केहि समयअघिसम्म भारु संकलन गरेर बढि मुल्यमा साट्नेहरु अहिले एक पैसा पनि साथमा राख्न चाहिरहेका छैनन् ।

झापाको हकमा प्लाई निर्यात बढेपछि भारु पैसाको कारोवार बढेको आशंका छ । प्लाई उधोगहरुले अण्डर विलिङ गरेर सामान निर्यात गर्ने र कर बाहेकको रकम हाताहाती पाउने भएपछि बजारमा भारु पैसाको फालाफाल भएको हुन सक्ने कतिपयको अनुमान छ । प्लाई उधोगहरु मार्फत बजारमा ठुलो मात्रामा भारु पैसा आइरहेको बताइन्छ ।

सीमानाकामा भारतीय मुद्रा कमजोर भएको विषयले संसदीय समितिमा पनि चर्चा पाएको छ । बिहीबारको अर्थसमिति बैठकमा केही सांसदहरूले यसमा सहजीकरण गर्न राष्ट्र बैंकलाई सुझाए ।

‘नेपालको व्यापारमा अहिले पनि भारतको हिस्सा ६० प्रतिशत हाराहारी छ । स्थिर विनिमय दर राख्दा नै धेरै फाइदा छ । त्यसबाहेक विनिमय दर चलाउने कुरा त्यतिकै हुँदैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने । यसका लागि अध्ययन गरेर नै निर्णय लिनुपर्ने उनी बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९-८० को ११ महिनामा मात्रै राष्ट्र बैंकले चार अर्ब ३० करोड डलर खर्चिएर तीन खर्ब ५१ अर्ब भारू खरिद गरेको थियो । राष्ट्र बैंकलाई नै भारूको आवश्यकता हुने भए पनि यसरी सहजै सटही नहुनुको मुख्य कारण भारतीय मुद्राको अवैध स्रोत नै हो ।

 

प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]