बैशाख २३, २०८१ आईतबार

कनकाईको सुर्तिजन्य पदार्थ निषेधित अभियान : एक हप्तामै देखियो परिवर्तन

प्रदीप परियार

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिवन्ध लागेको एक हप्तामा सकारात्मक परिवर्तन आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । बजारमा गुट्खाको खोल र चुरोटको ठुटा समेत घट्दै गएको अधिकांशको भनाई छ ।

कनकाई नगर क्षेत्रमा अहिले सुर्तिजन्य पदार्थ किन्न पाइदैन । कसैले विक्री गरेमा ५० हजार र खरिद गरेर प्रयोग गरेमा ५ हजार जरिवाना तोकिएको छ । नगरपालिकाले साउन १ गतेदेखि नगरक्षेत्रमा किनबेच र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाएपछि सुधार आएको व्यापारीहरुले जनाएका छन् । कनकाईका बजार क्षेत्रहरुमा व्यापारीले आफ्नो पसल अगाडि नै सूचना टाँसेर सुर्तिजन्य पदार्थ प्रतिवन्ध लगाइएको जानकारी गराइरहेका छन् । वडा कार्यालयहरु र चोकचोकमा सुर्तिजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिवन्ध लगाइएको सार्वजनिक सूचना पनि दिने काम भइरहेको छ ।

कनकाई भेराइटिज सुरुङाका सञ्चालक सुदिप भण्डारीले सुर्तिजन्य पदार्थ विरुद्धको अभियानले परिवर्तन ल्याएको बताए । उनले व्यापारीहरुले किनबेच गर्न छोडेको बताएका छन् । उनका अनुसार छिटपुटले गुट्खा चपाएको र चुरोट तानेको देखिन्छ । साउन १ अघिको अवस्था अहिले नरहेको भण्डारीको भनाई छ । मैले ३० गते नै सबै स्टक सकेको थिए, भण्डारीले भने – नगरको योजना अनुरुप विक्रि गर्न छोडिसकियो । उनले उक्त अभियानको व्यापारीहरुबाट खुलेर समर्थन भइरहेको पनि जानकारी दिए । उनले गुट्खा र चुरोटको कारण देखिने फोहोर पनि घटेको बताएका छन् ।

कनकाई ५ का वडाध्यक्ष कृष्ण बहादुर राईले एक हप्तामा सामान्य परिवर्तन आएको बताएका छन् । उनले एक हप्तामै ठुलो परिवर्तन खोज्न नहुने बताए । पहिलो चरणमा प्रचारप्रसार, आम नागरिकमा जनचेतना दिने काम भइरहेको बताए । नगरबासीमा जागरण नै सञ्चालन गरेर अभियान सफल बनाउनुपर्ने दायित्व भएको वडाध्यक्ष राईको भनाई छ । कालान्तरमा सफल भइन्छ, उनले भने – ‘यो नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ । जीवनसँग सम्बनिधत छ । ढिलोछिटो सबैले बुझ्नुहुनेछ ।’

साना व्यापारीहरुले सुर्तिजन्य पदार्थको विक्रीमा प्रतिवन्ध लगाएपछि मारमा परेको गुनासो राखेको वडाध्यक्ष राईले बताएका छन् । उनले ससाना बालबालिकादेखि नै चुरोट, खैनी, गुट्खा लत बसेको देखेर पनि नगरपालिका संवेदशिल भएको बताए । सबै व्यापारीहरुले व्यापार भन्दा पनि स्वास्थ्य जीवनका लागि पूर्ण रुपमा अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने उनको धारणा छ ।

कनकाई उधोग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीले सुर्तिजन्य पदार्थ निषेध गरेपछि बजारमा ९० प्रतिशत परिवर्तन आएको बताएका छन् । शत प्रतिशत सुधार आउन समय लाग्ने भन्दै विमलीले खुला रुपमा कसैले पनि सेवन गरेको नदेखिएको बताए । उनका अनुसार पहिलेजस्तो खुल्ला रुपमा चुरोट, गुट्खा खाएको देखिन छोडेको छ, उनले भने – केहि व्यापारी मारमा परे पनि अभियान सफल बनाउन व्यापारीहरुको साथ समर्थन छ । उक्त अभियानपछि वाणिज्य संघका नेतृत्वले समेत चुरोट, गुट्खा त्यागेको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]