चैत्र १६, २०८० शुक्रबार

वैधानिकताको प्रश्न उठेपछि बिर्तामोड खानेपानीको निर्वाचन अनिश्चित

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम अनिश्चित भएको हो ।

निर्वाचन समितिले मंसिर १६ गते मतदानको लागि सूचना प्रकाशित गरेपनि जिल्ला प्रशासनले निर्वाचन वैधानिक प्रक्रियाबाट अघि बढाउन भनेपछि खानेपानीको निर्वाचन कार्यक्रम तत्कालका लागि रोकिएको छ । जिल्ला समन्वय समिति झापाले समेत प्रशासन जस्तै विधान बमोजिम काम गर्न भनेपछि आन्तरिक समाधानमा खानेपानीको वर्तमान समिति जुटेको छ । विधानतः अहिलेको कार्यसमिति अवैधानिक भइसकेपछि उनीहरु नै समाधानको दौडधुपमा लागेका छन् ।

निर्वाचन भएको ३ वर्षमा अर्को समिति बनाउनु पर्ने विधानले व्यवस्था गरेको छ । ०७२ माघ ५ गतेको निर्वाचनबाट जल कुमार गुरुङको नेतृत्वमा कार्य समिति बनेको थियो । सो समितिको वैधानिकता विधानतः गत साउन ४ गतेबाट सकिएको छ ।

३ वर्षमा नेतृत्व हस्तान्तरण गर्ने भनिए पनि विधानले थप ६ महिना म्याद थप गर्ने व्यवस्था गरेको छ । ६ महिना समेत सकिएपछि गुरुङको नेतृत्व अवैधानिक भइसकेको सल्लाहकार समितिका सदस्य सिपि कडरियाले जानकारी दिए । उनका अनुसार ६ महिना समेत गुज्रिएपछि वैधानिकता बाटो सकिएको छ । विधानले व्यवस्था गरेअनुसार पुनरावेदन समिति बनाएर ३ महिनाभित्र निर्वाचन गर्नु पर्ने भएपनि अवैधानिक समितिले नै असोजमा साधारण सभा गरेर निर्वाचनको तयारी थालेको थियो ।

अवैधानिक समितिले निर्वाचन प्रक्रिया थालेपछि निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाइएको छ । विधानले अवैधानिक मान्ने समितिबाटै निर्वाचनको तयारी भएपछि उपभोक्ताले जिल्लास्तरी जलस्रोत समिति गुहारेका हुन् । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको सो समितिले विधान बमोजि निर्वाचन गर्न भनिसकेको छ ।

सल्लाहकार सदस्य कडरियाले उच्च स्तरीय राजनीतिक सहमतिबाट मात्र खानेपानीको वर्तमान समस्या समाधान हुने बताएका छन् । उनले खानेपानी समिति आफै अवैधानिक भएपछि उनीहरुले बोलाएको बैठकमा दलहरुको सहभागीता नभएको जानकारी दिए । उनले अब विशेष साधारणसभा बोलाएर खानेपानीको बाँकी प्रक्रिया अघि बढाउन सूझाव दिएका छन् । त्यसपछि चाँडो भन्दा चाँडो पुनरावेदन समिति बनाएर निर्वाचन गर्नुपर्ने उनको धारणा छ ।

खानेपानीका सचिव मेघराज बाँस्तोलाले मतदाता छुटेको कारण उनीहरुलाई समेट्न निर्वाचनको समय तलमाथि भइरहेको जानकारी दिए । उनले भने, अहिले नै अनिश्चित भन्न सक्दिन, शनिवारको सर्वदलीय बैठकबाट टुङ्गो लाग्छ । कोहि मतदाता छुट्न हुदैन, बाँस्तोलाले भने – ऐन, नियमबाट काम गर्नुपर्ने भएकाले प्राविधिक पक्ष मिलाइरहेका छौं ।

प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]