बैशाख २१, २०८१ शुक्रबार

मेचीनगरको अनुगमन टोली आएपछि सटर बन्द गरेर भागे व्यापारी

लक्ष्मी उप्रेती

धुलावरी । मेचीनगर नगपालिकाको नगरस्तरीय बजार अनुगमन टोली र जिल्ला बजार अनुगमन समिति सहितको टोली आइतबार मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु धुलावारी बजार आइपुग्यो । टोलीले त्यस क्षेत्रमा अनुगमन ग¥यो । खाद्यान्न पसलमा अनुगमन गर्दा वरपरका पसलले सटर बन्द गरे । नगरका मुख्य बजारमा मूल्यसूची नराख्ने, म्याद गुज्रिएका सामाग्री, मिति नभएका उत्पादनजस्ता अनेक समस्या देखिएपछि अनुमगन गरिएको नगर स्तरीय बजार अनुगमन समिति संयोजक एवम् उपप्रमुख मीना पोखरेलले जानकारी दिनुभयो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नगरस्तरी अनुगमन टोली संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेती विभिन्न जनप्रतिनिधि,जिल्ला प्रशासन कार्यालय झापा , घरेलु तथा साना उद्योगा कार्यालय झपाा, नापतौल तथा गुणस्तर कार्यालय झापा, आन्तरिक राजस्व कार्यालय झापा, मेची उदोगा बाणिज्य संघ मेचीनगर, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरु सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन थाल्यो । अनुगमन सुरु भएलगत्तै केहीबाहेक अधिकांश व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थाले ।

अनुगमन टोली आएको हल्ला फैलिएपछि व्यापारीहरुले पसलहरु बन्द गरे । यो दृृष्य देखेर अनुगमन टोलीका संयोजक नगरप्रमुख गोपालचन्द्र बुढाथोको सहितको टोली चकित प¥यो । बजार अनुगमन हुने थाहा पाएपछि सबै पसल धमाधम बन्द भएका भेटिए, यी व्यापारीलाई सम्पर्कमा ल्याउन नगर प्रमुख बुढाथोकीले पसलमा झुण्ड्याएर बोर्डमा रहेको सम्पर्क नम्बर हेर्दै धमाधम फोन लगायन थाल्नुभयो तर, कसैको फोन उठेन् कसैको स्वीज अफ थियो ।

मेचीनगर—१० धुलावरीस्थित खयरडाँगीमा रहेको पुजा किराना पसलका सञ्चालक उत्तमकुमार गुप्तालाई नगरप्रमुख बुढाथोकीसहित टोलीका अन्य सदस्यहरुले पटक पटक सम्पर्क गरे पनि उहाँले फोन नउठाएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष एवम् अनुगमन टोलीका सदस्य खेमराज प्रसाईले जानकारी दिनुभयो । पुजा किराना पसल नजीकै रहेको चिया पसलमा रहेका एक व्यक्तिले भन्दैं थिए —‘ अघिसम्म खुला नै थियो, अहिले भर्खर बन्द भएछ । ’ त्यसक्षेत्रका खाद्य स्टोर, किराना पसललगायतका अन्य पसलका सटर प्रायःबन्द थिए । बन्द भएका खाद्य स्टोर, किराना तथा अन्य व्यवसायीलाई सम्पर्कमा ल्याउन ताकेता गरिएको छ ।

यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी खाद्यवस्तुको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ । ‘व्यापारीले खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् ।’ मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्यले भन्नुभयो । अनुगमन टोली देखेर किन भाग्छन् व्यापारी ? ‘कि बदमासी गर्ने व्यवसायी डराउँछन्, कि केही कुरा नबुझेकाहरु लहैलहैमा अनुगमनबाट भाग्छन ’ घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा भन्नुहुन्छ । संविधानअनुसार अनुगमन गर्नु राज्यको दायित्व नै हो ।

यस्तो अवस्थामा व्यवसायी भाग्नुको साटो अनुगमनलाई सहयोग गर्नुपर्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । ‘गलत काम गर्नेलाई मात्रै कारबाही गर्ने हो । अनुचित तरिकाले व्यापार व्यवसाय गर्नेलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व नै हो,’ उहाँले भन्नुभयो—‘व्यवसायी पनि उपभोक्तामैत्री बन्नुपर्छ । अनुगमन टोलीलाई सहयोग गर्नु व्यवसायीको पनि दायित्व हो ।’

व्यवसायीका नेताकै पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत

अनुगमन टोलीले सोहि क्षेत्रमा रहेको भूमि ट्रेडर्सबाट लाखौँ रुपैयाँ मुल्य बराबरका म्याद नाघेका सामान जफत गरेको छ । उक्त ट्रेडर्स मेची उद्योगा बाणिज्य संघ मेचीनगरका उद्योग उपाध्यक्ष भुमि पौडेलको हो ।

भूमि ट्रेडर्सबाट अनुगमन टोलीले म्याद ग्रुजिएका रियल जुस १ लिटरको १४ काटन, रियल जुस २०० एमएलको ७ काटन, गुट्खा १ बोरा,घरेलु तोरी तेल आधा लिटरका ५ काटन, दुर्गा खाने सोडा ५० ग्रामका १४० पाकेट, दुर्गा खुर्सानि धुलो २०० ग्रामको २० पाकेट, कन्काई चियाँ १ केजीको एकजार, क्रिमफिल्स चकलेट २ बट्टा जफत गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँले पहिलो पटक ट्रेडर्स सञ्चालकलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गर्ने दाबी गर्नुभयो ।

व्यवसायीका नेताकै पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत हुनु दुखदः घटना भएको प्रतिक्रिया संघका अध्यक्ष खेमराज प्रसाईले दिनुभयो । टोलीले धुलावारी बजारैमा रहेको पौडेल किराना पसलबाट समेत म्याद गुज्रिएका खाद्यवस्तु वरामद गरेको थियो । पौडेल किराना पसल पनि उहाँकै रहेको बताइएको छ । यसरी जफत गरिएका सामान सबैको उपस्थितिमा नष्ट गरिने कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । ‘यी बरामद भएका अखाद्य र मिति सकिएका सामग्री कानुनी प्रक्रिया पालन गरेर सबैको रोहबरमा गाड्ेर नष्ट गर्नेछौं’ उहाँले भन्नुभो ।

अनुगमनका क्रममा हेरिएका अन्य पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएकाले तत्काल कारवाही स्वरुप ५ हजार रुपैयाँ जरिवाना गराईएको र कार्यालयमा सम्पर्कका लागि आउन भनिएको आन्तरिक राजस्व कार्यालय झापाका नायव सुब्बा एवम् टोलीमा सहभागी हर्कजीत राईले जानकारी दिनुभयो । अनुगमन टोलीले पसलमा पुगेर व्यवसाय दर्ता, राजस्व र अन्य प्रक्रियाबारे आवश्यक जानकारी दिएर सचेत गराइएको थियो । खरिदबिक्री बिल जारी नहुँदा व्यवसायको आर्थिक कारोवार परादर्शी नहुने र मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने गरेको नासु राईको भनाई छ । गुणस्तर नापतौल कार्यालयका प्रतिनिधिहरुले विद्युतिय तराजुहरुको प्रयोग तथा त्यसको अद्यवधिकलगायतका विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

खाद्य स्टोर र अन्य पसलबाट अनुगमन र परीक्षणको क्रममा बरामद सामाग्री मेचीनगर नगरपालिका परिसरमा विभिन्न सरकारी तथा गैरसरकारी प्रमुख प्रतिनिधिहरुको रोहवरमा खाल्टो खनेर नष्ट गरिएको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिनुभयो । अधिकाशं पसलहरु दर्ता रहेको तर अनुगमन क्रममा फर्म नियमानुसार नविकरण गर्नुपर्ने तर उक्त फर्महरुले नविकरण नगरेकाले उक्त फर्महरुलाई नविकरण गरी मात्र करोबार गर्न निर्देशन दिईएको नगर उपप्रमुख एवम् नगर स्तरीय अनुगमन समिति संयोजक उप्रेतीको भनाई छ ।

अनुगमन टोलीले मास भेराइटिज स्टोर्स , दास किराना पसल, जानकारी किराना पसल, मनोज किराना पसल, उमेश किराना पसल, लक्ष्मी किराना पसललगायत १५ वटा पसलको अनुगमन गरेको थियो । अधिकाँशमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएका र सवै सामान जफत गरि नष्ट गरिएको थियो ।

प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]