बैशाख २०, २०८१ बिहीबार

हल्दिवारीको जग्गा वर्गीकरण विरुद्ध एमाले, कांग्रेस र माओवादी आन्दोलित

भद्रपुर । हल्दिवरी गाउँपालिकाको जग्गा वर्गीकरण विरुद्ध दलहरु आन्दोलित बनेका छन् । गाउँपालिकाले अवैज्ञानिक विधिबाट जग्गा वर्गीकरण गरेको भन्दै दलहरुको आन्दोलनमा गाउँपालिका बासिन्दाले साथ दिएका छन् ।
जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् ।

गाउँपालिकामा राप्रपाले बहुमतको आढमा स्थानीय सरोकारवाला दल तथा संघ संस्थाको समन्वय विना एकलौटी जग्गा वर्गीकरण गरिएकोमा दलहरुले आपत्ति समेत जनाएका छन् ।

जग्गा वर्गीकरणको बारेमा स्थानीय नागरिकलाई समेत सूचना प्रवाह नगरी आवास तथा कृषि जग्गा बीच भिन्नता समेत नहुने गरी आएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै दलहरु आनदोलित भएका हुन् । सडक छेउछाउका जग्गा पनि कृषि मै राखिएको छ भने स्थानीयको साविक जग्गा गायव भएको देखिएको भन्दै दलहरुले अविलम्ब सच्चिन चेतावनी समेत दिएका छन् । एक हप्ताभित्र जग्गा वर्गीकरण नसच्चिए धर्नादेखि तालाबन्दीसम्मको कार्यक्रम अगाडि बढाइने नेकपा एमाले हल्दिवारी इञ्चार्ज नरेश चुडालले जानकारी दिएका छन् ।

ज्ञापन पत्रमा नेकपा एमालेका हल्दिवारी अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली काँग्रेसका पालिका सभापति गंगा प्रसाई र नेकपा माओवादी केन्द्रकी कार्यवाहक अध्यक्ष टिका राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । जनताको मर्म र भावना बमोजिम छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनु स्थानीय सरकारको कर्तव्य हो । जनताको विकासप्रतिको तिव्र चाहानालाई पुरा गर्दै समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, विकृति, विसंगति र वेतिथीको अन्त्य गर्न स्थानीय स्तरदेखि नै विधिको शासनको परिपालना गर्ने÷गराउने व्यवस्था मिलाउनु वर्तमानमा स्थानीय सरकारको दायित्व हो । तर, स्थानीय सरकारको रुपमा रहेको हल्दीबारी गाउँपालिका स्थानीय जनताहरुको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने भन्दा पनि नागरिकहरुलाई सास्ती दिने कुरामा उद्यत देखिएको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा हालै हल्दीबारी गाउँपालिकाले स्थानीय नागरिकहरुसंग महत्वपूर्ण सरोकार राख्ने भु–उपयोग योजना तर्जुमा र जग्गा वर्गीकरणको सन्दर्भमा अपनाएको विधि, प्रकृयालाई हेर्दा प्रष्ट हुन्छ । गाउँपालिकाको भु–उपयोग सम्बन्धि योजना तर्जुमा र जग्गाको वर्गीकरण गर्ने जस्तो महत्वपूर्ण विषयमा पर्याप्त प्रचार प्रसार, छलफल र जानकारी सम्प्रेषण गर्नु पर्नेमा सो नगरी गाउँपालिकाले जग्गा वर्गीकरणको प्रकृया अगाडी बढाएको छ ।’

उनीहरुले हल्दीबारी गाउँपालिकाले हालै अगाडी बढाएको जग्गा वर्गीकरणको प्रक्रिया तत्काल स्थगित गरी पर्याप्त प्रचार प्रसार, छलफल र जानकारी सम्प्रेषण गराएर नागरिकहरुले जान्न र कानुन बमोजिम सच्याउन पाउने अधिकारको सुनिश्चित गरियोस् भनी हल्दीवारी गाउंपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

ज्ञापन पत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र भूमिसुधार तथा मालपोत कार्यालयका निमित्ति प्रमुख दिपेन्दकुमार खत्रीलाई बुझाइएको एमाले हल्दिवारीका सचिव सागर पोर्तेलले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]