बैशाख २१, २०८१ शुक्रबार

काँकरभिट्टामा ‘लार्भा खोज र नष्ट गर अभियान’ शुरु

लक्ष्मी उप्रेती

मेचीनगर – झापाको मेचीनगरका विभिन्न वडामा डेंगुका संक्रमितहरु फाट्टफुट्टरुपमा देखा पर्न थालेपछि मेचीनगर नगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न चेतनामुलक तथा ‘लार्भा खोज र नष्ट गर अभियान’शुरु गरेको छ ।

मेचीनगरका विभिन्न वडामा संक्रमण दर उच्च भएपछि काँकरभिट्टा तथा अन्य क्षेत्रमा चेतना अभियान शुरु गरिएको हो । डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्नेलगायतका काम शुरु गरेको नगरपालिकाले जनाएको छ । सतर्कता देखाउन अबेर गर्दा नगरमा संक्रमण उच्च हुने, धमाधम रोगी फेला पर्ने भएकाले बेलैमा सतर्कता शुरु भएको हो । ढिलो गरी यस्तो अभियान शुरु भए रोगी संख्या लगातार बढिरहने नगरपालिकाले जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार मेचीनगरमा साउनको दोस्रोसातासम्ममा १२ जना विरामीको रगत परीक्षण गर्दा १२ जनामै डेंगु पुष्टि भएपनि नगरमा डेंगु संक्रमितको संख्या यो बढि भएको अनुमान गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा नगरपालिकामा डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि वहुनिकाय अन्तरक्रिया तथा योजना तर्जुमा सम्पन्न भए लगत्तै शुक्रबार मेचीनगरको वडानम्बर—६ काँकरभिट्टाबाट ‘लार्भा खोज र नष्ट गर अभियान’ शुरु गरिएको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो ।

स्वास्थ्य शाखा संयोजक निरौलाका अनुसार मेचीनगर – ६ का वडाध्यक्ष ललितबहादुर तामाङसहित अन्य जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, आमा समूह, मेचीनगर नगर प्रहरी र स्थानीय उद्योगी व्यपारीसहित वडावासीले काँकरभिट्टा बजारमा रहेका टायर दोकान र अन्य क्षेत्रमा पुगेर ‘लार्भा खोज र नष्ट गर अभियान’मा सहभागिता जनाएका थिए । काँकरभिट्टामा जोखिम स्थानको पहिचान गरि लार्भा नस्टसँगै स्थानीयलाई सचेत गराइएको थियो ।

पाँच सयभन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्यधिक संख्यामा गाडीका ग्यारेजहरु रहेको शहर काँकरभिट्टामा डेंगु संक्रमणले प्रकोपकै रुप लिन सक्ने अवस्था नआओस भनेर यो अभियान शुरु गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायरलगायतमा पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँने भएकाले त्यस्ता ठाउँको पहिचान गरी लार्भा नष्ट गर्ने स्वास्थ्य शाखा संयोजक निरौलाले जानकारी दिनुभयो । डेंगुबाट हुने संक्रमण नियन्त्रणका लागि सचेत रहन वडाबासीहरुलाई आग्रहसमेत गरिएको छ ।

यो संक्रमण हो, यसबाट बच्न सामान्य सतर्कताले पनि सहयोग पुग्छ । त्यसका लागि स्थानीय तह मात्रैको पहलले पुग्दैन् । हरेक नागरिकले आवश्यक ध्यानदिनु पर्ने हुन्छ । नियन्त्रणसँगै मानवीय क्षतिबाट बच्न सकिन्छ ।

काँकरभिट्टाका विभिन्न क्लिनिकमा अहिले ज्वरोका विरामीको संख्या बढेको छ । उपचारकालागि आएका अधिकाँश विरामीमा डेंगु संक्रमण फेला पर्ने गरेको मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले जनाएको छ ।

‘ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा परेको भन्दैं विरामी आउने गरेका ’ मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरका स्वास्थ्यकर्मी दिलीप सुवेदीले भन्नुभयो-‘ यो डेंगुको लक्षण हो । हामी रगत परीक्षण गराउँछौ, धेरैको नतिजा पोजेटिभ आउँछ र डेंगु संक्रमण फेला पर्छ । ’

नगरपालिकाको स्वास्थ्य शाखाले प्रभाव क्षेत्रमा विरामी भेट्ने, चेतना अभियान चलाउने लगायतका काम गरिरहेको छ । टोलीले ठाउँ–ठाउँमा गएर सरकारले भन्दा पनि जनस्तरबाटै सतर्कता जरुरी भएको भन्दै सर्वसाधारणलाई सम्झाइरहेको छ । उच्च ज्वरो तथा टनटनी टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्नेहरुको रगत परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि हुने गरेको शाखाका सहसंयोजक पुजन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो — ‘संक्रमण दर ह्वात्तै बढेको छ । यसको नियन्त्रणका लागि हामीले सम्पूर्ण शक्ति परिचालन गरेका छौं ।’

प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]