सम्पादकीय : बिर्तामोड-भद्रपुर सडक निर्माणको काम अर्कैलाई देऊ
ठेकेदारलाई दवाव दिन सार्वजनिक ठाउँमा ठेकेदारको फोटो टाँस्ने अभियान चलिरहेको बेला बिर्तामोडमा पनि ठेकेदारको खोजी भइरहेको छ । काठमाडौं, विराटनगरमा सडक निर्माणमा ढिलाई गर्ने ठेकेदारको फोटो टाँस्ने काम सम्पन्न भइसकेको छ । बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माण गर्ने ठेकेदारको पनि फोटो टाँस्ने तयारी भइरहेको छ । सडकमै ठेकेदारको फोटो टाँस्दा बाटो बन्ने रैछ भन्ने उदाहरण काठमाडौंमा देखिएको छ । जब फोटो टाँसियो काम धमाधम शुरु पनि भयो । यहि प्रकारको दवाव कसैलाई हानी नोक्सानी नहुने देखियो ।

बिर्तामोड पूर्वकै व्यस्त बजार हो । यहाँ निर्माणाधिन सडकलाई अलपत्र छोड्दा व्यापारमा ठुलो नोक्सानी भइरहेको छ । व्यापारीका लागि व्यापार घाटा होला तर, सर्वसाधारण जनताको जीवन निकै कष्टकर भइरहेको छ । नागरिकको स्वास्थ्य विग्रदो छ । ठेकेदारी गरेर करोडौं कमाउनेहरुलाई यसको असरका बारेमा कुनै मतलव छैन । किनभने, महंगा गाडि उनीहरुसँग छ । ति गाडिमा बाटोको धुलो छिर्दैन । सडक जताततै खनिएको छ । दुर्घटनाको जोखिम उस्तै छ । एक जनाको यसै कारण ज्यान नै गइसक्यो । अब यहाँका नागरिकले निर्माण पक्षलाई विवेकपूर्ण हिसावले सम्झाउने बेला भइसकेको छ ।
आषिश–प्रेरा जेभीले निर्माणको सम्झौता गरेको छ । त्यसले अर्का निर्माण व्यवसायी राजकिशोर गुप्तालाई पेटी कन्टाक्टमा दिएको छ । एउटा कम्पनीले काम जिम्मा लिएर अर्को पक्षलाई निर्माणको जिम्मा दिएकै कारण आजसम्म सडकको हालत यस्तो छ । नत मापदण्ड अनुसार सडक बनेका छन् । ढल निकासको उस्तै समस्या छ । यो सबै समस्याबाट मुक्त हुन ठेकेदारले निर्माण व्यवसायी परिवर्तन गर्नैपर्छ । अहिलेका गुप्ताबाट अब विर्तामोड–भद्रपुर सडक खण्ड बन्ने स्थिति छैन । उनको विकल्प खोज्ने समय आइसकेको छ । उनलाई हटाएर काम गर्न सक्ने, नागरिकको व्यथा व्यथा बुझ्न सक्ने निर्माण व्यवसायी जरुरी परेको छ । तत्काल गुप्तालाई हटाएर नयाँ विकल्प खोजियोस् ।