बैशाख २३, २०८१ आईतबार

झापाबाट गायिका बन्न काठमाडौँ पुगेकी वीणाको सङ्घर्ष

विष्णुप्रसाद पोखरेल

दमक । झापा दमक नगरपालिका– ९ स्थायी बासिन्दा वीणा भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । विद्यालयमा जाँदै देखि उनी नाच्ने र गाउने गर्थिन । आफ्नै साथी र शिक्षक-शिक्षिकाले हौसला दिएपछि उनलाई एक दिन आफू साँच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ ।

आमा अम्बिकादेवीले आफूलाई सानै उमेरदेखि गाउन हौसला दिएकी भट्टराई सम्झिन्छिन् । पुर्ख्यौली घर ताप्लेजुङ भए पनि सानै उमेरदेखि दमकमा नै बस्दै आएकी थिइन । दमकमा नै कक्षा १० अर्थात् माध्यमिक तहसम्म अध्ययन गरेकी र सङ्गीतप्रतिको रुचिका कारण उच्च शिक्षाका लागि काठमाडौँ गएकी थिइन् ।

काठमाडौँ पुगेपछि गुरु चण्डीप्रसाद काफ्लेसँग सङ्गीत सिक्न शुरु गरेको र श्री सङ्गीत पाठशालामा ८ वर्ष निरन्तर सङ्गीत सिकेको भट्टराई बताउँछिन् । आफूले २०६५ सालमा पहिलो पटक बाध्यता एल्बममा ‘झुक्क्याएर पासो थापी…’ भन्ने गीत गाएको बताइन् । मीन गुरुङको सङ्गीत र उर्वशी थापाको शब्द रहेको थियो ।

आफूले गीतहरू पनि लेख्ने गरेको उनी बताउँछिन् । त्यसपछि लगातार गरेर आफूले १५० भन्दा बढी गीत गाएको उनको भनाई छ । ’हामी मोफसलका मानिसहरूलाई काठमाडौँ गएर स्थापित हुन समस्या हुने रहेछ,’ उनले गुनासो गरिन् । ’यहाँसम्म आइपुग्न धेरै नै सङ्घर्ष गर्नु परेको छ,’ उनीले भनिन् ।

आफूले लोक गीत, आधुनिक गीतहरू गाएको भट्टराई बताउँछिन् । उनले छक्कै परे..,बुढेसकालको लौरी.., सुन्तलाको फल.. लगायतका गीतहरू गाएकी छिन् । आफूले लेखेको साडी मलमल..को गीत निक्कै नै चलेको उनले सुनाइन् । ’गाउने मात्र होइन म गीत लेख्ने पनि गर्छु,’ भट्टराईले भनिन् ।

आफूलाई गायिका बनाउनका लागि बुबा मनप्रसाद भट्टराईले हल गोरु र घरको दूध दिने भैँसी बेचेको सम्झँदा अहिले पनि आँसु झर्ने उनले सुनाइन् । आमाले आफ्ना गरगहना बेचेर आफूलाई यस क्षेत्रमा लाग्न आवश्यक खर्च जुटाइदिएको भट्टराईको भनाई छ ।

२०७७ सालमा बुबा खसेपछि दमक आइ आमाको साथ बसेको र आफ्नो सङ्गीत यात्रा केही समय रोकिएको जनाइन् । ’बुबाको पनि निधन भयो र कोरोना सङ्क्रमणले गर्दा त्यो समयमा केही पनि गर्न सक्ने अवस्था रहेन,’ उनले भनिन् । अब नयाँ गीत तथा एल्बम निकाल्ने तयारी गर्दैछु,’ गायिका भट्टराईले सुनाइन् । एक दिन अघि मात्र अन्जु श्रेष्ठसँगको तीजको लहर बोलको नयाँ गीत सार्वजनिक भइसकेको छ ।

२०७५ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेकी भट्टराईले नेपाल आइडलमा प्रारम्भिक छनोटमा निर्णायकको भूमिका पनि खेलेकी थिइन् ।

छायादेवी तिज म्युजिक अवार्ड २०७५, सगरमाथा म्युजिक अवार्ड २०७६,राष्ट्रिय राप्ती म्युजिक अवार्ड लगायतका विभिन्न अवार्डबाट पुरस्कृत तथा सम्मानित भट्टराई अहिले पनि त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसमा सङ्गीत विषय अध्ययनरत छिन् । तीनवटा स्थानीय विद्यालयमा उनी सङ्गीत शिक्षा पनि पढाउँछिन् ।

प्रकाशित मिति : श्रावण २८, २०८० आईतबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]