बैशाख २९, २०८१ शनिबार

भोजपुरका अलैँची कृषक भन्छन् – भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर – खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।

अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भन्नुभयो, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन ।

आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ । अलैँची उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर नगरपालिका–१० का कृषक दुर्जधन राईले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य प्रतिमन रु ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषक उहाँको भनाइ छ । गत वर्ष किसान राईले चार मन अलैँची उत्पादन गर्नुभएको थियो ।

वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ कृषकको लगाव बढी देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कृषकलाई प्रधानमन्त्री अधुनिकीकरण परियोजनाले प्रविधिक तथा ५० प्रतिशत लागत साझेदारीमा थप खेती विस्तारमा सहयोग गरेपछि अलैँची खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताउनुभयो ।

खडेरी र रोगले अलैँची नष्ट भएपछि उत्पादनसमेत घटेको हो । उत्पादन नघट्ने हो भने कृषकको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत अलैँचीले सहयोग गर्ने भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । “कृषकलाई उचित मूल्य पाउनै समस्या हुन्छ, मूल्य बढ्दा उत्पादनमा कमी आएको छ, कृषक मारमा छन्”, उहाँले भन्नुभयो ।

खेतीमा लाग्ने विभिन्न रोगका कारण पनि उत्पादन कमी आएको अलैँची व्यवसायी महासङ्घ भोजपुरका अध्यक्ष राजेश विष्टले बताउनुभयो । बगानमा छिर्केफुर्के, जरा तथा पाना कुहिने, डढुवाजस्ता रोग देखिने भएकाले पनि उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

जिल्लाको दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्द नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैँसीपङ्खा, भोजपुर, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत करिब एक हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ ।

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको बताइएको छ । अलैँची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोडमेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्यालामात्रै रु दुई लाखसम्म लाग्ने गरेको अलैँची कृषकको गुनासो छ ।

अलैँची कृषक बखतबहादुर श्रेष्ठले यस वर्ष मूल्यमा वृद्धि भएको भए पनि उत्पादनमा कमी आएको बताउनुभयो । “हामी मूल्य बढ्नुपर्छ भनेर चिन्तित थियाँै, तर बढेर पनि उप्त्पादन घट्दा हामी कृषकलाई फाइदा भएन”, उहाँले भन्नुभयो । भोजपुरमा उत्पादन भएको अलैँची धनकुटाको हिले, सङ्खुवासभा, धरान, झापाको बिर्तामोडमा सङ्कलन हुँदै बाहिरी बजारसम्म बिक्रीका लागि जाने गरेको छ । रासस

प्रकाशित मिति : श्रावण २८, २०८० आईतबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]