जेष्ठ ४, २०८१ शुक्रबार

७१ बाट ६२ प्रतिशतमा घट्यो कृषक परिवार संख्या

झापा । नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ ।

अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।

कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।

यो कृषिगणनाले यस्ता कृषक परिवार अन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

यसैगरी कृषिगणनाले कृषक परिवारले १२ लाख नौ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणनाका अनुसरा सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यरी नै सिँचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ ।

वि.सं. २०१८ सालदेखि हरेक दश-दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साबिकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।

तीनै तहका सरकारहरूलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित कृषिगणनाको सार कृषि योजनाको पूर्वाधार मूल नाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ सङ्घीयतापछिको पहिलो कृषिगणना भएको छ ।

विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ । वैज्ञानिक विधिबाट तीन लाख ३० हजार ११२ कृषक परिवारहरू छनोट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण सङ्कलनका लागि पाँच हजार १५० गणक, एक हजार ३५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरूसहित करिब सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]