बैशाख १८, २०८१ मंगलबार

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापा, १ असोज – दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दाबढी छन् । उहाँले विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको विरुवा नै वितरण गरिरहेको बताउनुभयो ।

“आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो”, उहाँले भन्नुभयो, “तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।”

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक रु २५ लाख आम्दानी गरेको बताउनुभयो । उहाँले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा रु पाँच लाख बढी नाफा भएको बताउनुभयो । उहाँले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गर्नुभएको हो ।

विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उहाँले बताउनुभयो । उहाँले बाहै्र महिना फल्ने सुनकागतीको खेती गर्नुभएको छ । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उहाँको भनाइ छ । बगानमै प्रतिकेजी रु ७५ ले कागती बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

“धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो”, उहाँले भन्नुभयो, “तर कागती खेतीमा भने समस्या छैन ।” उहाँले हाल स्थानीय छ जनालाई रोजगारी दिइरहनुभएको छ । राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने उहाँको अनुभव छ ।

प्रकाशित मिति : आश्विन १, २०८० सोमबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]