बैशाख २३, २०८१ आईतबार

रोटरी क्लव सुरुङ्गाद्वारा शैक्षिक सामग्री वितरण

कनकाई । रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिकाहरु भएको कनकाईको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका ४ स्थित कनकाई गायत्री प्राविमा अध्ययनरत बालबालिकाहरुलाई बिद्यालय परिसरमै उपस्थित भएर शैक्षिक सामग्री वितरण गरेको हो । क्लवले आफ्नो वार्षिक कार्यक्रमको निरन्तरता स्वरुप यस पटक कनकाई गायत्री प्राविमा अध्ययनरत नर्सरीदेखी कक्षा पाँचसम्मका विद्यार्थीलाई कापी, पेन्सील लगायत खेलकुदका सामग्री वितरण गरेको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि स्थानीय स्तरका विभिन्न विद्यालयमा सहयोग गर्दै आएको क्लवले सामाजिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईका क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आएको क्लवका कानुनी सल्लाहकार रामप्रसाद निरौलाले बताए । विपन्न वर्ग र समुदायका ग्रामीण क्षेत्रका बालबालिकालाई समेत शिक्षाप्रति थप आकर्षण बढाउन क्लवले खेलकुद सहित शैक्षिक सामग्री वितरण गरेको पत्रकार एवं क्लवका कानुनी सल्लाहकार निरौला बताउँछन् ।

आर्थिक अवस्था ज्यादै न्यून भएका मजदुर वर्गका बालबालिकाहरु अध्ययनरत यस कनकाई गायत्री प्राविको शैक्षिक स्तर वृद्धिका लागि रोटरी क्लव अफ सुरुङ्गाको सहयोगले विद्यालयलाई थप हौसला प्रदान गरेको भन्दै कनकाई ४का पूर्व वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक गोविन्द पौडेलले खुशी व्यक्त गरेका छन् । स्वार्थभन्दा माथि उठेर सामाज सेवा गर्ने पवित्र उद्देश्यका साथ विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तित्वहरु रहेको रोटरी क्लव अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक सुस्मा न्यौपाने उप्रेतीले बताइन् । सर्भिस प्रोजेक्ट चेयरका रुपमा क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेल रहेका छन् भने सदस्यहरुमा सुस्मा न्यौपाने उप्रेती र दिपक कुवँर रहेका छन् ।

ग्रामिण क्षेत्रमा रहेर विभिन्न समस्यालाई सहज बनाउने प्रयासमा अघि बढेको यस विद्यालयले अंग्रेजी माध्यमलाई समेत अभ्यासका रुपमा संचालन गर्दै लगेको विद्यालयका प्रधानाध्यापक जनार्दन पोखरेलले बताएका छन् ।

सामाजिक क्षेत्रमा विभिन्न गतिविधी संचालन गर्दै अघि बढेको रोटरी क्लव जस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थासँगको सहकार्यले विद्यालयको चौतर्फी विकासमा थप सहयोग पुग्नेछ भन्ने कुरामा विद्यालय परिवार विश्वस्त रहेको प्रधानाध्यापक पोखरेलले जनाएका छन् ।

क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व रहेको संक्षिप्त कार्यक्रममा कनकाई नगरपालिका वडा नं.४ की वडा सदस्य मन्दिरा विश्वकर्माले राज्यको दायित्व भित्र रहेको विद्यालय शैक्षिक सुधारको कार्यक्रममा रोटरी क्लवले गरेको सहयोगप्रति खुशी व्यक्त गरिन् । निस्वार्थ रुपमा सामाजिक सेवामा क्रियाशिल यस्ता संस्थाहरुको असल कार्यले समाज रुपान्तरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वडा सदस्य विश्वकर्माले रोटरी क्लवसँग स्थानीय सरकारले समेत समन्वय गरेर काम गर्न चाहेको बताएकी छन् ।

क्लवकी सचिव विनिता मैनाली बिमलीले संचालन गरेको औपचारिक कार्यक्रममा संयोजक सुस्मा न्यौपाने उप्रेतीले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]