बैशाख २७, २०८१ बिहीबार

तेक्वान्दोमा स्वर्ण पदक विजेता अर्जुनधाराका विश्वकर्मालाई सम्मान

अर्जुनधारा । गत भदौं २७ देखि ३० सम्म ललितपुरमा सञ्चालन भएको ११औँ कोरियन एम्बासेडर खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका झापाका प्रदिप विश्वकर्मालाई राष्ट्रिय युवा संघ नेपाल वडा समिति अर्जुनधारा २ ले सम्मान गरेको छ ।

युवा संघले मंगलवार एक कार्यक्रमको आयोजना गर्दै खेलाडी विश्वकर्मालाई सम्मान गरेको हो । युवा संघ अर्जुनधारा २ नं. वडा समितिका अध्यक्ष इन्द्रबहादुर रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीका अध्यक्ष शुरेन राई र विशिस्ट अतिथि नेकपा एमाले झापा जिल्ला सदस्य तुलसी खतिवडा लगायतले खादा अबिर लगाई सम्मानपत्रद्वारा प्रदिपलाई सम्मान गरेका हुन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त रुपमा आयोजित उक्त प्रतियोगितामा झापा अर्जुनधारा २ का प्रदिपले स्वर्ण जितेका थिए । अर्जुनधारा नगरपालिकाबाट सहभागी खेलाडीमध्ये उनले जुनियर ६३ केजी तौल समूहमा स्वर्ण पदक पाएका हुन् ।

प्रदिपका बुवा प्रेम बहादुर विश्वकर्मा, हजुरबुबा धनराम विश्वकर्मा लगायत परिवारका सदस्यहरुलाई समेत अबिर र खादा लगाई सम्मान गरिएको थियो । प्रदिपलाई अर्जुनधारा २ का जनप्रतिनिधिहरु शर्मिला सुब्बा, कमला विश्कर्मा र प्रेम उपरकोटीले संयुक्त रुपमा नगद १५ सय रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राई र विशिष्ट अतिथि खतिवडाले खेल क्षेत्रमा अर्जुनधारा नगरपालिका कै नाम राख्न सफल भएको भन्दै बधाई ज्ञापन गरेका हुन् । उनीहरुले आगामी दिनमा खेल क्षेत्रमा प्रदिपको उज्वल भविष्यको कामना गरेका छन् ।

नेकपा एमाले अर्जुनधारा २ का सचिव नारायण पराजुलीले संचालन गरेको सम्मान कार्यक्रममा अर्जुनधाराका साईवर इन्चार्ज रोनक लिम्बुले स्वागत गरेका थिउ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ३ का पूर्व अध्यक्ष मदन गिरी लगायत नेकपा एमाले संवद्ध विभिन्न स्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रदिप हाल अर्जुनधारा ३ स्थित जनता मावि खुदुनाबारीमा कक्षा ९ मा अध्यानरत छन् ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]