बैशाख २३, २०८१ आईतबार

सामाजिक सद्भाव कायम गरौं

सम्पादकीय

मंगलवार बाँकेको नेपालगञ्जमा सेना परिचालन गरियो । अवस्था तनावपूर्ण भएपछि सेना परिचालन गरिएको हो । हिन्दु र मुस्लिम समुदायबीचको एकतामा एउटा फेसबुक स्टाटसले तनाव सिर्जना गरेको थियो । त्यसले उग्ररुप लिएकै कारण सेना परिचालन गर्नेसम्मको अवस्था सिर्जना भयो । मिलिजुली बसेको नेपाली समाजमा यस प्रकारका घटना कमै छन् । जातीय एवम् धार्मिक समस्या नहुने नेपाली समाजमा पछिल्लो समय यस प्रकारका गतिविधिहरु छिटपुट देखापर्न थालेका छन् । जसले समाजमा विभाजनको अवस्था ल्याउन खोजिरहेको छ ।

हिन्दु र मुस्लिम समुदाय आमने–सामने भएपछि जुनसुकै बेला दंगा भड्किने खतरा उत्पन्न भयो । त्यसकारण स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ । केहि दिनअघि मुस्लिम समुदाय मोहम्मद डेमा रमाइरहेको थियो । बाँके नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोड्दै सामाजिक सञ्जालमा अपाच्य स्टाटस लेखे । त्यो स्टाटसले मुस्लिम समुदायलाई दुखी र आक्रोसित बनायो । त्यसै स्टाटसले दुई समुदायबीच तनावको स्थिति बनाएको हो । सामाजिक सञ्जालको गलत प्रयोगका कारण खराव परिस्थिति निर्माण हुन सक्छ भन्ने यो बलियो उदाहरण हो ।

नेपाली समाजमा उच्चतम मेलमिलापको वातावरण छ । सबै जाति, भाषा र धर्म समुदायबीच कुनै प्रकारको द्वेष छैन । सुन्दर समाज बनाएरै बसेको अवस्था छ । यो सुन्दर समाजलाई कसैले पनि भड्काउन हुदैन । एकले अर्को जाति, भाषा र धर्म समुदायको सम्मान गर्नुपर्छ । गएको महिना धरानमा गौहत्या गरेर सामुहिक भोजन गरेको विषयले तनाव सिर्जन गरेको थियो । त्यो घटना साम्य भइसकेको छ । त्यस प्रकारका गतिविधि पनि एक अर्कालाई भड्काउने प्रकृतिका छन् । यसैले सबै समुदायबीच मेलमिलाप कायम गरौं । सामाजिक सद्भाव कायम गरौं । सञ्जालहरुको प्रयोगमा ख्याल गरौं ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]