बैशाख १७, २०८१ सोमबार

शिवसताक्षीका कर्मचारीलाई योगासँगै अभिबृद्धि तालिम

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु गरेको छ ।
नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता अभिबृद्धि तालिमको बुधबार उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गरेका हुन् ।

तालिममा नगरपालिकामा कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले समय सापेक्ष कर्मचारीहरुलाई अपडेट गराउँदै लगे मात्र नयाँ प्रविधि अवलम्बन गर्दै काम छिटो छरितो तरिकाले गर्न सकिने बताए ।

नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि शिवसताक्षी नगरपालिका लागि परेको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । कर्मचारीहरुका पनि केही समस्याहरु रहेका छन् । नगरपालिकाले क्रमशः सम्बोधन गर्दै जान्छ । तर, आम नागरिकले सेवा दिन कर्मचारी सदैव इमान्दारी भएर लाग्नु पर्ने उनको भनाई थियो ।

शिवसताक्षी नगरपालिकाले अघिल्ला वर्षमा माथिल्लो तहका कर्मचारीहरुलाई मात्र तालिम दिएको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार अधिकृत तहका कर्मचारीहरुमा भन्दा तल्लो तहका कर्मचारीसँग सेवाग्राहीहरु बढी सम्पर्क हुने भएकाले यसपटक तल्लो तहका कर्मचारीहरुलाई तालिमको आजोजना गरिएको हो ।
तालिममा विहान ७ बजेबाट ९० मिनेट सहभागीहरुलाई योग साधाना गराइएको शिवसताक्षी नगरपालिका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । योग साधानका लागि लिला वन भारतीले सहजीकरण गरेकी थिइन् । ९ बजेबाट दिउँसो १ बजेसम्म क्षमता अभिबृद्धि तालिमको सहजीकरण विजय तिम्सिनाले गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

तालिमको उद्घाटनमा शिवसताक्षी नगरपालिका लेखा अधिकृत प्रकाश योङहाङ्ग, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिवसताक्षी नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र दोमुखामा कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]