रंगमञ्चमा उत्रदैँछ आदिवासी समुदायको कथा समेटिएको नाटक ‘म्लेच्छ’
मेचीनगर । परिवर्तन थिएटर झापाले आदिवासी समुदायको कथा समेटेर तयार पारिएको नाटक ‘म्लेच्छ’ रंगमञ्चमा उतार्ने भएको छ । थिएटरले यहि असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म हरेक दिन दुई पटक उक्त नाटक प्रदर्शन गर्ने भएको हो ।
पत्रकार पर्वत पोर्तेलले लेख्नुभएको यस नाटकलाई कलाकार गणेश बस्नेतले निर्देशन गरेका छन् । आदिवासी समुदायको उद्भव, विस्तार तथा पलायन जस्ता विषयलाई समेटेर तयार पारिएको यस नाटकले समग्र आदिवासी समुदायको मुद्दा उठाउने नाटकका निर्देशक बस्नेतले आज आयोजित पत्रकार सम्मेलनमा बताए ।
नाट्य क्षेत्रमा सक्रिय रहेका उनले आदिवासी समुदायको कथामाथि नाटक निर्देशन गर्नु ठुलो चुनौती रहेको औंल्याए । यद्यपी, चुनौतीलाई अवसरमा बदल्दै नाटक निर्देशन गर्न पाउँदा खुशी लागेको उनको भनाई छ ।
‘म्लेच्छ’ शब्द उच्चारणमा मात्रै नभएर परिभाषामा गम्भिर शब्द हो । आदिवासी भाषामा यसको अर्थ ‘अनार्य’ हुन्छ । यसरी यति गम्भिर विषयलाई छनोट गरेर तयार पारिएको यस नाटकले आदिवासीले विगतदेखि भोग्दै आएको दुख, सास्ती अनि ताडना बोल्ने संस्थाकी संस्थापक अध्यक्ष तथा कला संयोजक कविता नेपालले बताइन् ।
मेची सामुदायिक भवन काँकरभिट्टामा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म दिनको दुईपटक दिउँसो २ बजे र साँझ ५ : ३० बजे प्रदर्शन हुने यस नाटक हेर्न टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीका लागि एक सय रुपैयाँ लाग्छ भने साधारणतया २ सय ५० मा नाटक हेर्न सकिन्छ ।
एक घण्टा भन्दा बढी समय रंगमञ्चमा उत्रने यस नाटक अत्यन्तै गम्भिर तथा मनोरञ्जनात्मक रहेको संस्थाकी अध्यक्ष लिला विष्टले बताइन् । ‘ठुलो चुनौतीका बिच तयार पारिएको यस नाटक अत्यन्तै राम्रो छ, सम्पूर्णले हेरिदिनुहुन अनुरोध गर्दछु’, उनले भनिन् ।
पत्रकार सम्मेलनमार्फत नाटकका बारेमा थिएटरका सचिव समेत रहेका संचारकर्मी शिशिर चम्लागाईले थप प्रकाश पारेका थिए ।