बैशाख ४, २०८१ मंगलबार

‘प्रगतिशील प्यानलमा सबैजना नयाँ भिजनका साथ आएका छौं’

विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही मङ्सिर २५ गते हुन गइरहेको चुनावमा आमूल परिवर्तनको एजेण्डा र २५ प्रतिशत महसुल घटाउने प्रतिबद्धताका साथ नयाँ भिजन बोकेर संयुक्त प्रगतिशील प्यानल आम उपभोक्तामाझ विश्वासको मत माग्दै घरदैलोमा पुगिरहेको छ । नेकपा विर्तामोडका अध्यक्ष समेत रहनुभएको विर्तामोडको लोकप्रिय सामाजिक व्यक्तित्वको रुपमा परिचित सो प्यानलको नेतृत्वकर्ता एवम् अध्यक्ष पदका उम्मेद्वार ज्ञानुराम प्रसाईसँग चुनावी सन्दर्भमा लिइएको ताजा अन्तरवार्ता प्रस्तुत छ–

अध्यक्ष पदका लागि तपाईको उम्मेद्वारी किन ?
उपभोक्ताहरुलाई स्वच्छ खानेपानी घर–घरमा चाहिएको छ । अहिले जसरी विर्तामोड खानेपानीको वितरण भइरहेको छ, जसरी यसको व्यवस्थापन भइरहेको छ, यतिमा आम उपभोक्ताहरु सन्तुष्ट छैनन् । धेरै पुरानो शैलीमा चलिरहेको संस्थालाई यदि सुधार गर्ने हो भने नेतृत्व नयाँ चाहिन्छ ।

नयाँ मात्र भएर पनि पुग्दैन, नयाँ भिजन भएको चाहिन्छ । साधन स्रोत जुटाउन सक्षम, जुझारु र पारदर्शी चरित्र भएको नेतृत्व चाहिन्छ । आम उपभोक्ताले संस्थामा आमूल परिवर्तन चाहेका छन् । हाम्रो उम्मेद्वारी त्यही परिवर्तनका लागि हो, आमूल सुधारका लागि हो । हाम्रो प्रगतिशील प्यानलमा सबैजना नयाँ भिजनका साथ आएका छौं । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने ज्ञानुराम प्रसाईले विर्तामोडको सामाजिक प्रगतिका लागि लामो समयदेखि काम गरिरहेको यहाँको हरेक उपभोक्तालाई अवगत छ । मैले समाजमा इमानका साथ सेवा गर्दै आएको हुँदा खानेपानी संस्थाको नेतृत्वका मत मागेको हुँ ।

तपाईले हिजोको दिनमा बिर्तामोडमा उपलब्धिपूर्ण के–के कार्य गर्नु भयो र रुचाएका होलान् यहाँका उपभोक्ताले ?

म २२ वर्षदेखि बिर्तामोडमा रहेर सामाजिक सेवाको विभिन्न कार्यमा निरन्तर लागिरहेको छु । दर्जनौ संस्थामा विभिन्न पदमा रहेर काम गरिसकेको छु । देवी मावि बिर्तामोडको २ वर्ष अगाडि अध्यक्ष हँुदा ६० प्रतिशत विद्यार्थी ग्राउण्डमा छाप्रा बनाएर पढ्ने गरेका थिए । अहिले गएर हेर्नुभयो भने त्यहाँ ज्ञानुराम प्रसाईको नेतृत्वमा भएका उपलब्धिहरु देख्न सक्नुहुन्छ । मैले २ वटा भवन निर्माण गरी स्टेज सहितको कार्यक्रम स्थल तथा खेल मैदान निर्माण गरेको छु । विद्यार्थी संख्या ४ गुणाले वृद्धि गरी सामुदायिक विद्यालयमा नेपालकै दोस्रो प्रख्यात विद्यालय बनाउन सफल भएको छु । अहिले ४ हजारभन्दा ज्यादा विद्यार्थी पढाउँदै आएका छौँ । शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यम लगायतका क्षेत्रमा मैले योगदान पुर्याएको छु । यो त एउटा मात्र उदाहरण हो, हामीले समाजमा पुर्याएको योगदानको यस्ता धेरै उदाहरण छन् ।

खानेपानी संस्थामा पनि म एक कार्यकाल सदस्यको रुपमा रही काम गरिसकेको व्यक्ति हुँ । म कार्य समितिमा रहेको बेलामा धेरै धारा जडान तथा पाइप विस्तार कार्य अगाडि बढाएका थियौँ । मैले कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गरेको थिएँ । म जुन जुन संस्थामा काम गर्ने अवसर पाउँछु, त्यसको अहित हुने र आम उपभोक्ताको शीर निहुरिने काम कहिल्यै गर्दिन । चुनाव भनेको उपभोक्ताले जसलाई विश्वास गर्छन् उसैले मत पाउने प्रणाली हो । आजसम्म बिर्तामोडमा रहेर समाजका लागि मैले जे योगदान लगातार रुपमा गर्दै आएको छु, आम उपाभोक्ताले त्यसको अवश्य मूल्यांकन गर्नुहुने छ भन्ने मलाई विशवास छ । वर्षौदेखि एकै प्रकारको नेतृत्व रह्यो हाम्रो खानेपानीमा । त्यसलाई फेर्ने आम उपभोक्ताको चाहना छ । विद्यमान अवस्थामा रहेका तीन वटै तहका सरकारसँग समन्वय गरी संस्थाको विकास र विस्तार गर्ने क्षमता म आफुमा रहेको ठान्दछु । यही नै उपभोक्ताको रोजाइ र मेरो चुनाव जित्ने मुख्य आधार हो, यसमा म ढुक्क छु ।

तपाई राजनीतिक नेता पनि हो । खानेपानीमा राजनीति प्रवेश राम्रो होला र ?

नेतृत्व चयन, चुनाव र सामाजिक सेवा भनेकै राजनीतिसँग अभिन्न रुपमा गाँसिएका विषय हो । राजनीति भनेको सामाजिक चेत हो । जोसँग राम्रो सामाजिक चेत हुन्छ, उसले समाज हाँक्न सक्छ । खानेपानी संस्था उपभोक्ताहरुको हित गर्ने साझा थलो हो । नेतृत्व चयनका सन्दर्भमा राजनीति हुँदा नराम्रो हुँदैन । तपाईहरु नै खोज्नुस् त, राजनीतिभन्दा टाढाको उम्मेद्वार कसलाई भेट्नुहुन्छ ? आज कोही पनि राजनीतिको प्रभावभन्दा टाढा रहेको हुँदैन ।

तर सवाल के हो भने चुनाव जितेर म खानेपानी संस्थाको अध्यक्षको पदभार सम्हाल्न थालेपछि राजनीतिक भेदभाव हुन्छ कि हुँदैन ? म अहिले नै प्रष्टसँग भन्छु, चुनाव जितेर गएपछि राजनीतिक आधारमा कसैमाथि भेदभाव गर्दिन । चुनाव अघिसम्म मात्र कोही नेकपा, कोही समाजबादी, कोही राप्रपा, कोही कांग्रेस हुने हो । जब जितेर जिम्मेवारी सम्हाल्न पुगिन्छ, राजनीतिको चश्मा र जुत्ता खानेपानी कार्यालयको ढोकाबाहिरै फुकाल्नेछु । यो मेरो बाचा हो । जुत्ता बाहिर नै खोलेर मन्दिरमा प्रवेश गरे जस्तै स्वच्छ भावनाले काम गर्नेछु ।

प्रतिष्पर्धीलाई कुन रुपमा लिनु भएको छ ?

लोकतान्त्रिक संस्कारमा हुर्किएको मान्छे हुँ म । चुनावी प्रतिष्पर्धालाई सहज रुपमा लिन जान्दछु । अध्यक्ष पदमा मेरो प्रतिष्पर्धी जलकुमार गुरुङ मेरो अनन्य मित्र हुनुहुन्छ । यति हो उहाँले धेरै लामो भयो खानेपानीको नेतृत्व गरेको । जति क्षमता देखाउनु पर्ने हो, उहाँसँग जति क्षमता थियो वा थिएन, त्यो त यति लामो अवधिसम्म उपभोक्ताले थाहा पाइसकेका छन् । अब उहाँले विश्राम लिनुपर्छ । उपभोक्ताहरुले मतादेशमार्फत उहाँलाई विश्राम र नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ ।

भावी योजना कस्तो छ ?

मैले अघि नै भनिसकेको छु कि धेरै लामो समयदेखि एकैखालको नेतृत्व रहेको विर्तामोड खानेपानीमा नयाँ सोच र उर्जा भएको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने आम उपभोक्ताको चाहनालाई सम्बोधन गर्दै संयुक्त प्रगतिशील प्यानलबाट हामी उम्मेद्वार भएका छौं । हामीसँग एउटा दुईवटा होइन, दर्जनौं राम्रा योजना छन् । जे गर्न सकिन्छ त्यो मात्र हामीले टिमको प्रतिबद्धताको रुपमा सञ्चारमाध्यमबाट उपभोक्ता समक्ष पु¥याउने कोशिस गरेका छौँ । सुरक्षित खानेपानी र उचित सरसफाईका लागि खानेपानी उपभोक्ता संस्थाको नेतृत्व अत्यन्त महत्वपूर्ण सवाल हो ।

म र मेरो टिमले जितेको खण्डमा मुख्यतः खानेपानी वितरण र सरसफाई देशकै नमुना बन्ने गरी काम गर्नेछौं । बिर्तामोड तथा अर्जुनधाराका सिमावर्ती वडाहरुलाई नमूना सहरको रुपमा विकास गर्नेछौं । खानेपानी उत्पादन र वितरणमा वैकल्पिक उर्जाको प्रयोग गरी चुहावट नियन्त्रण गर्नेछौं । वैकल्पिक आयस्रोतको व्यवस्था गर्नेछौं । फजुल खर्च कटौती गर्नेछौं ।

अहिले अव्यवस्थित तरिकाले वितरण गरिएको खानेपानीको मासिक महसुल र जडान खर्च ज्यादै महँगो भएको आम उपभोक्ताको गुनासो छ । हामी जित्नासाथ महसुल र जडान खर्च २५ प्रतिशत घटाउनेछौं । महसुल घटाए पनि सेवाको दायरा र स्तर भने बढाउनेछौं । धारा जडानका लागि निवेदन आउनासाथ दिनेछौं, किनकि शुद्ध पिउने पानी पाउनु नागरिकको मौलिक अधिकार हो । नेपाल सरकारसँग तुरुन्त समन्वय गरी ओभरहेड टेङ्कीसहितको नयाँ खानेपानी आयोजना विस्तार गर्नेछौं । खानेपानीको गुणस्तर नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपकरण सहितको प्रयोगशाला स्थापना गर्नेछौं ।

आगलागी जस्ता आकस्मिक दुर्घटना न्युनीकरणका लागि सहरको मुख्य स्थानहरुमा फायर हाइडे«न्ट प्वाइन्टको व्यवस्था गर्नेछौं । खानेपानीको समग्र वितरण व्यवस्थापनमा आधुनिक प्रविधिको व्यवस्था गर्नेछौं । खानेपानी संस्थालाई उपभोक्ताको सर्वोपरि हितमा लोकतान्त्रिक विधिबाट सञ्चालन गरी सुशासन कायम राख्नेछौं । साथै खानेपानीलाई मौलिक हकको रुपमा स्थापना गर्दै समग्र वितरण व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र सहभागिताको सिद्धान्तमा आफुलाई समर्पित गर्नेछौं ।

अन्त्यमा मतदातालाई के भन्नु हुन्छ ?

सम्पूर्ण मतदाता महानुभावमा मेरो हृदयदेखि अनुरोध छ कि एकपटक मेरो नेतृत्वमा रहेको संयुक्त प्रगतिशील टिमलाई मतदान गरी विजयी बनाउनुहोस् । हामी तपाईहरुको मतलाई खेर जान दिने छैनौं । इमान्दारीपूर्वक ३ वर्ष काम गर्नेछौं ।

प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]