बैशाख १७, २०८१ सोमबार

चुनाव जित्नका लागि विकासको आश्वासन देखाउने चलन छ : सांसद ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ ।

‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उहाँको अनुभव छ । “बुझ्नेलाई त थाहा छ नि, सांसदको कानुन बनाउने प्रमुख भूमिका हो भनेर, तर चुनाव जित्ने बेलामा जनतालाई थुप्रै आश्वासन दिएको हुन्छ”, उहाँले भन्नुभयो, “सांसदको पूर्ण ध्यान आफ्ना क्षेत्रको विकास निर्माणमा मात्र छ, कानुन बनाउनुपर्ने महत्वपूर्ण काम चाँहि ओझेलमा पर्ने गरेको छ ।” नेपालमा धेरै पहिलादेखि नै यही संस्कार नै बनेकाले पनि जनतालाई पनि विकासकै आशा हुने उहाँको अनुभव छ ।

“अझै पनि धेरै ग्रामीण बस्तीमा सांसद भन्ने वित्तिकै विकासकै आशा हुन्छ”, उहाँले थप्नुभयो, “स्वास्थ्य चौकी छैन, कति ठाउँमा छ, औषधि छैन, शिक्षाको अवाव छ, सडक, खानेपानीको धेरै समस्या छन्, त्यो जनप्रतिनिधिले नै पूरा गरोस् भन्ने आशा हुन्छ ।” सांसद ज्ञवालीलाई सबै कुरा एउटा सांसदले विकास गर्न सम्भव पनि नभएको अनुभव छ । सांसद विकास कोष पनि जनतालाई देखाउने कोष मात्रै भएको उहाँको बुझाइ छ । “योजना दिने तर पैसा नदिनेजस्ता धेरै समस्या हुने गरेको थियो, राज्यकोषको पैसाबाट हो, कोष किन चाहियो विकास गरे भइहाल्छ नि”, उहाँले भन्नुभयो, “तर अहिले सर्वोच्च अदालतले रोकेको छ, मलाई व्यक्तिगतरुपमा अदालतले रोक लगाएको ठीक लागेको छ, त्यो कोष जरुरी छैन ।”

गुल्मीको रुरु गाउँपालिका–१ मा २०२६ सालमा जन्मिनुभएकी नेत्री ज्ञवालीले एमालेमा भूमिगत भएर बर्दिया र कैलाली पार्टीको काम गर्नुभयो । उहाँ गुल्मीमा जन्मनु भए पनि कर्मथलो फरक हुँदा २०४६ सालमा बहुदल आएपछि खुलेर बाहिर आउनुभएको हो । उहाँ बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बर्दियाबाट प्रतिनिधित्व गर्नुहुन्छ । समानुपातिकबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य हुनुभएको हो ।

विधायक ज्ञवालीलाई सांसदको काम कानुन निर्माण प्रक्रियामै ध्यान दिनुपर्ने हो हो भन्ने लागे पनि चुनाव जित्नका लागि जनताका सामु बाटो बनाउने, रोजगारी सिर्जना गर्ने, खानेपानी, शिक्षा स्वास्थ्य आदि पूरा गर्छु भनेर वचन दिएकाले जनताको पीर मर्कामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा त्यही खालको संस्कार छ, त्यसले गर्दा पनि जनता कानुन बनाउने भन्दा प्राथमिकतामा जनताको समस्या पहिला आउँछ ।”

संसद् सुचारु भएको यतिका समय भइसक्दा पनि कानुन बनाउने काममा तीव्रता दिन नसकेको उहाँलाई सांसदको मात्र दोष हो भन्ने लाग्दैन । सरकारले सदनलाई ‘विजनेस’ नदिएर नै कानुन निर्माण प्रक्रियामा ढिलाइ भएको उहाँको ठहर छ । “एउटा मिटरब्याजीसम्बन्धी विधेयकबाहेक अरु बनेको छैन, वास्तवमा यो संसद् र सांसदको भूमिकामा गम्भीर प्रश्न उठ्ने सवाल छ”, उहाँले भन्नुभयो, “किन भने संविधान अनुकूल बनाउनुपर्ने कानुन नै धेरै छन ।”

आमजनताको प्रतिनिधित्व गर्ने संसद् कानुन बनाउन ढिलाइ हुनुमा जवाफदेही सांसद पनि हुनुपर्नेमा उहाँ सहमत हुनुहुन्छ । यसमा सांसद र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने र बनाउनुपर्ने महत्वपूर्ण कानुन निर्माणमा सबैको ध्यान हुनुपर्ने उहाँको भनाइ छ । “कानुन बनाउनुपर्ने विषयका विधेयक सरकारले ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “सदनलाई सरकारले काम दिए कानुन बनाउने हो, तर बनाउनुपर्ने महत्वपूर्ण कानुनका विधेयक पनि आउन ढिलाइ भइरहेको छ ।” संंसद् सञ्चालन गर्ने प्रमुख भूमिका सरकारको भएको र प्रमुख प्रतिपक्षीलाई जायज मागमा सम्बोधन नभएपछि र विना आधार आरोप लगाएपछि संसद्मा अवरोध गर्नुपर्ने बाध्यता परी आउने उहाँको बुझाइ छ । सुशासनका लागि बोल्नका लागि संसद्को प्रमुख प्रतिपक्षको बोल्नैपर्ने आवश्यकता भएको उहाँको भनाइ छ ।

कानुन बनाउने थलोमा उभिएका सांसद आबेगमा बोल्न हुँदैन भन्ने उहाँलाई लाग्छ । “सदनमा मयार्दामा रहेर बोल्नुपर्छ, जनताको प्रतिनिधि भएर इमान्दार, मर्यादित र अनुशासित हुनुपर्छ”, उहाँले भन्नुभयो, “संसद् भनेको जे मुखमा आयो, त्यही बोल्ने स्थान होइन, नेपालको सांसद भनेर विश्वभरिका नेपाली र अरु सबैले हेरिरहेका हुन्छन्, सभ्य हुनुपर्छ ।”

उहाँलाई पहिला बोल्ने र पछि रेकर्डबाट हटाउनुपर्ने अवस्थाको सिर्जना गर्नु पनि ठीक होइन भन्ने लाग्छ । प्रमुख प्रतिपक्षी दलका नेकपा (एमाले)  का सांसदले त्यस्तो अश्लील, असभ्य, असोभनीय बोलेर रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको उहाँलाई सम्झना छैन ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]