चैत्र १६, २०८० शुक्रबार

मुन्धुम सुनाउँदै सकियो चासोक तङ्नाम

सुनसरी : याक्थुङ चुम्लुङले चासोक तङ्नाम (न्वागी उत्सव) को अवसरमा पहिलो पटक धरानमा मुन्धुमका तिनै विद्यामा दक्ष येवा/येमानी, साम्बा र फेदाङ्बा मार्फत याग्राङ्सिङ उठाएर तङ्सिङ तक्मा ( विशेष पूजा ) गरेका छन् । 

चासोक तङ्नामलाई नयाँपुस्तामाझ मौलिक सांस्कृतिक चाडको रुपमा स्थापित गर्न यसपटक चुम्लुङहिम परिसरमा आयोजित चारदिने सामूहिक चासोक तङ्नाम सांस्कृतिक पर्यटन उत्सवलाई सांस्कृतिक पहिचानसँग जोडेको आयोजक चुम्लुङका जिल्ला अध्यक्ष मोहन हुक्पाचोङ्बाङ्ले बताए।
उनका अनुसार लिम्बू समुदायको याक्थुङ मुन्धुम (दर्शन) अनुसार चासोक तङ्नामको सम्बन्ध कृषि युगसँग राख्छ। मुन्धुममा पनि त्यसबेलाको सामाजिक, पारिवारिक, सांस्कृतिक अवस्थाको व्याख्या र वर्णन गरिएका उनले बताए। उनले भने, ‘खेतबारीमा छरेको, रोपेको अन्नबाली पाकेपछि आफ्नो कूल इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि आफूले खाँदै मनाउने चासोक तङ्नाम लिम्बु जातिको मौलिक सांस्कृतिक चाड भएकोले हर्षोल्लासका साथ सामूहिक रुपमा सम्पन्न भयो।’
चासोक तङ्नामको अवसरमा मुन्धुम फलाक्नका लागि ताप्लेजुङको नाल्बोबाट येवा/येमानी, साम्बा र फेदाङबा ल्याइएको थियो। फेदाङ्बाले घरको देउदेउता मन्साउने गर्छन्।
येवाले याग्राङ्सिङ उठाएर आँखी डाही, गाली सराप बगाउने गर्छ भने साम्बाले सामाजिक पारिवारिक रुपमा इष्टमित्र, कुलकुटुम्बमा सुख शान्तिको कामना, अन्नबाली उत्पादन वृद्धिको प्रार्थना, धन दौलत, शौर्यताको प्राप्तिका लागि तागेरानिङ्वाफुमाङ (प्रकृति)सँग मुन्धुम फलाक्ने गर्छ।
चासोकमा येवायेमानी, साम्बा फेदाङ्बाहरुले आकासीय ब्रमाण्डको सृष्टिकथादेखि पृथ्वी, जीवजन्तु, आगो, पानी, हुँदै अन्तिममा मानव जीवनको उत्पत्ति कथा सुनाएका थिए। मानवजीवन र मानव सभ्यताको सुरुआत भएपछि बाच्नका लागि मानिसले अन्नबाली लगाएको, पकाएर खान थालेको र सबैभन्दा पहिला प्रकृतिमा उत्पन्न अन्नबाली प्रकतिलाई नै चढाएर खान सुरु गरेको मुन्धुमी कथामा वर्णन गरिएको आधारमा चासोक तङ्नाम मनाउने गरिएको मुन्धुमविद् अर्जुन बाबु माबोहाङ्ले बताए।

चारदिने चासोकमा मौलिक पहिरन भएपनि आधुनिक डिजाइन गरिएको मेख्ली र तागावामा लिम्बु समुदायका युवायुवतीहरु सजिएर सहभागी भएका थिए। उनीहरु हाडनाता र साइनो नलाग्नेहरुसँग सामूहिक रुपमा यालाङ (धाननाच) र के लाङ (च्याब्रुङ नाच), हाक्पारे जस्ता सांस्कृतिमा रौसिएका थिए।

प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]