जेष्ठ ४, २०८१ शुक्रबार

झापाका आधा सिमेन्ट उद्योग बन्द

बिर्तामोड । झापामा सञ्चालित आठ वटा सिमेन्ट उद्योगमध्ये आधा उद्योग बन्द भएका छन् । कोभिडपछिको आर्थिक मन्दीको चपेटामा परेका सिमेन्ट उधोगहरुले उत्पादन खर्च धान्न नसकेपछि बन्द गरेका हुन् ।

झापाको सबैभन्दा पुरानो मित्तल सिमेन्ट पूर्ण रुपमा बन्द भएको छ । त्यसपछि सञ्चालनमा आएका सनराइज, मनषा, काबेली समेत बन्द भइसकेका छन् । कावेलीले पूर्ण रुपमा बन्द नगरी १५ प्रतिशत उत्पादन गरिरहेको जनाएको छ । विगतको उत्पादन परिमाण अनुसार अहिलेको उत्पादन बन्द सरह नै छ, कावेलीका प्रवन्धक सुमन मैनालीले भने ।

अहिले जिल्लामा मेघा, कञ्चन्जंगा, गोरखकाली र हिमालय सिमेन्ट उद्योगले उत्पादन घटाएर भए पनि उद्योग सञ्चालन गरिरहेको छ । मेघा सिमेन्टका निर्देशक रजत साहेवालाले समग्रमा ५० प्रतिशतभन्दा धेरै उत्पादन घटेको जानकारी दिए । उनले छठपछि सिजन सुरु हुँदा पनि बजारमा सिमेन्टको माग नभएको जानकारी दिए । उनका अनुसार सिमेन्टको माग निरन्तर घटिरहेको छ ।

आर्थिक वर्ष ०७८/७९ सम्म राम्रो व्यापार भएको थियो, साहेवालाले भने – ०८०/८१ सम्म आइपुग्दा अवस्था नाजुक छ । जिल्लाका उद्योगहरु २४ घण्टा चलाउदा पनि माग धान्न नसकेपछि धेरै उद्योगहरु व्यापार राम्रो भएको देखेर खुलेका थिए । पछि खुलेका अधिकांश उद्योगहरुले ठुलो नोक्सान व्यहोर्नुपरेको छ । आर्थिक मन्दीको प्रभावले सिमेन्ट उद्योगहरु ठुलो मारमा परेको साहेवालाको भनाई छ ।

झापा उद्योग वाणिज्य संघका महासचिव समेत रहेका कावेलीका प्रवन्धक मैनालीले सरकारले विकासको काम गर्न नसक्दा पनि सिमेन्ट उद्योगहरु समस्यामा परेको बताए । उनले कोभिडपछिको आर्थिक मन्दीसँगै सरकारले पुँजीगत खर्च गर्न नसक्दा समस्या आइलागेको प्रतिक्रिया दिए ।

बहुराष्ट्रिय चिनिया कम्पनीहरुले नेपाली उद्योगलाई महंगोमा क्लिङकर बेच्ने र सस्तोमा सिमेन्ट बचेका कारण स्थानीय उद्योगहरु बन्द भएको मैनालीको दावी छ । मैनालीले सिमेन्ट उद्योग सञ्चालनको वातावरण बनाउन सरकारले सोहि अनुसारको नीति बनाउनुपर्ने बताएका छन् ।

विगतमा झापामा दैनिक २ हजार देखि २२ सय टन सिमेन्ट उत्पादन हुँदै आएको थियो ।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]