बैशाख २३, २०८१ आईतबार

डीडीसीले दिएन झापाली दुग्ध किसानको ३ करोड ८१ लाख भुक्तानी, दुध खरिद घटायो

बिर्तामोड । गत साउन महिनादेखि दुधको भुक्तानी रोकेको दुग्ध विकास संस्था (डीडीसी) ले झापाली किसानलाई कोटा निर्धारण गरेको छ । गत हप्तासम्म दैनिक ५-६ हजार लिटर दुध खरिद गर्दै आएको संस्थानले अब दैनिक २ हजार लिटर दुध मात्रै खरिद गर्ने परिपत्र गरेको छ ।

झापाका नीजि डेरीहरुले खरिद गर्दासमेत किसानले सहजै सोचेजस्तो दुधको बजार पाउन नसकेको बेला दुग्ध संस्थानले समेत कोटा निर्धारण गरेर समस्या थपेको छ । ठुला डेरी र दुग्ध विकास संस्थाले दुध खरिद गर्दा पनि सयौं लिटर दुध बजार विहीन बन्ने अवस्थामा पुगेको किसानहरु बताउँछन् ।

दुग्ध विकास संस्थानले झापाका किसानहरुको दुध गरामनीमा संकलन गरेर विराटनगर लैजाने गरेको छ । संस्थानका झापा इञ्चार्ज ओमकार खरेलले कोटा निर्धारण भएपछि किसान थप मारमा परेको बताए । उनले भुक्तानी गर्न नसकेपछि दुध खरिदमा कोटा तोकिएको जानकारी दिए ।

झापा, कचनकवल, बाहुँनडाँगी, हम्सेदुम्से दमकबाट दुग्ध विकास संस्थानले दुध संकलन गर्ने गरेको छ । दैनिक ६ हजार लिटरसम्म खरिद गरेको संस्थानले भुक्तानी कठिनाई कै कारण संकलनमा समेत कडाई गरेको खरेलको भनाई छ । उनले जिल्लामा सिजनमा ८० हजार लिटर दुध उत्पादन हुने गरेको जानकारी दिए । ठुला डेरीहरुले धेरै मात्रामा खरिद गरेर बजारमा विक्री गर्ने गरेका छन् ।

दुग्ध विकास संस्थानले दुधजन्य वस्तुको विक्री घटेपछि आर्थिक समस्या आएको जनाएको छ । दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख परमेश्वर चौधरीले व्यापारमा कठिनाई भएकै कारण किसानको भुक्तानीमा समस्या आएको बताए । उनले किसानको भुक्तानीका लागि मन्त्रीस्तरीय बैठक समेत बसिसकेको जनाए । अब, कहिलेसम्ममा भुक्तानी हुन्छ टुंगो छैन, उनले थपे – आफ्नै स्रोतबाट भुक्तानीको संभावना नभएपछि ऋण गरेर भुक्तानी गर्ने ठाउँमा पुगिएको छ । दुग्ध विकास संस्थाले ऋण गरेर भएपनि किसानको भुक्तानी दुई महिनाभित्र गर्नेछ ।

१५-१५ दिनमा भुक्तानी पाउँदै आएका झापाका किसानले पाँच महिनादेखि दुधको पैसा पाएका छैनन् । दुग्ध विकास संस्था विराटनगरका लेखा शाखा प्रमुख मोहन खत्रीले झापाका किसानले साउनयता ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए । कोशी प्रदेशका किसानले २१ करोड भुक्तानी पाउन बाँकी रहेको खत्रीको भनाई छ ।
झापाबाट मासिक १ लाख ६० हजार लिटर दुध खरिद गर्ने गरेको थियो । त्यसबात किसानले मासिक १ करोड ८ लाख आम्दानी गर्दै आएका थिए ।

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]