जेष्ठ २, २०८१ बुधबार

अर्जुनधाराको भद्रकाली शक्तिपीठमा गरुड महापुराण

शनिश्चरे – अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित सिंहबाहिनी देवी मन्दिर ( भद्रकाली शक्तिपीठ ) मा सीता विवाह पञ्चमीको अवसर पारेर नौ दिवसीय २२ औं बार्षिक अनुष्ठानको रुपमा श्रीमद् गरुड महापुराण एवं धन धान्याञ्चल महायज्ञ आइतबार देखि शुरु भएको छ ।

शक्तिपीठको अधुरो भौतिक संरचनाहरु निर्माण गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो । महापुराण उद्घाटन समारोहका विशिष्ट अतिथि तथा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल ,प्रमुख कथा वाचक पण्डित बासुदेव खनाल लगायतले २२ वटा दिप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरेका थिए ।

त्यस्तै उपवाचक पण्डित विवेक अधिकारीले पाठ परायण गरेर व्यास उद्घाटन गरेका थिए भने शक्तिपीठका पूर्व अध्यक्ष रेशम बहादुर खत्रीले दानपेटीका र पुजारी दिनेश काफ्लेले धान्याञ्चल पर्वत उद्घाटन गरेका थिए । आयोजकका अनुसार २ गतेदेखि दैनिक बिहान ७ देखि १० बजे सम्म मण्डप पूजा पाठ परायण ,१० देखि १२ बजे सम्म कथा प्रवचन , दिउँसो १२ देखि १ :३० बजे सम्म विश्राम , अपरान्ह १ः३० देखि ४ बजे कथा प्रवचन , साँझ ६ देखि आरती महात्म कथा ,भजन, किर्तन झाँकी प्रदर्शन राति ९ बजे सम्म ,८ गते साँझ लक्ष्यदिप प्रज्वलन , रात्री जाग्राम र ९ गते पूर्णाहुती ,हवन तिलक प्रसाद वितरणसहित महायज्ञ समापन हुनेछ ।

महायज्ञ सम्पन्न गर्नका लागि २ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने शक्तिपीठका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यता रहेको सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि गोम्देनले शुभकामना राख्दै धर्म, संस्कृति र संस्कार जगेर्नाका लागि यस्ता धार्मिक कार्यक्रमहरु गाउँ –गाउँ ,टोल –टोलमा गर्न आवश्यकता रहेको बताए । जुन समाजमा धर्म संस्कृति हुदैन त्यो समाज असभ्य हुन्छ । सभ्य समाज रुपान्तरण गर्न धर्म अपरिहार्य छ । समाज अनुशासित हुने एक मात्र बाटो धर्म नै भएको उनको भनाइ छ । मानिसको अनुशासन नभएकोले समाजमा महिला हिंसा जस्ता अपराधी क्रियाकलापहरु गरिरहेकाछन् । उनले यस पवित्र मन्दिरमा सके भगवानको नाममा पैसा दान गर्ने , नसके रिस – आरिस भगवानलाई चढाएर जान भक्तजनहरुलाई आग्रह गरे ।

त्यस्तै विशिष्ट अतिथि कटुवालले शक्तिपीठको उन्नति ,प्रगतिका सकेसम्म सहयोग गर्न भक्तजनहरुलाई अनुरोध गरे । स्थानीय नव दुर्गा आधारभूत विद्यालयका शिक्षक तोया ओलीले संचालन गरेको कार्यक्रममा अर्जुनधारा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवराज बुढाथोकी , अर्जुनधारा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकदेव खनाल , शक्तिपीठका उपाध्यक्ष तिलक बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस अघि झाँकीसहित कलश यात्राले नगर परिक्रमा गरि मण्डपमा आएर कार्यक्रममा परिणत भएको थियो ।

प्रकाशित मिति : पुष १, २०८० आईतबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]