अन्नपूर्ण गोल्डकप लाखौं घाटामा , बिजेताले शिल्ड पाए रकम पाएनन्
बिर्तामोड । जायोन क्लवले आयोजना गरेको अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विजेता आर्मी र उपविजेता चर्च ब्वाइज युनाइटेडले अझै उपाधि वापताको रकम पाएका छैनन् । दुवै टिमसँग आयोजकले दिएको चेक मात्र छ । आर्मीले १२ लाख ५० हजार र चर्च ब्वाइजले ६ लाख २५ हजारको चेक बुझेको आयोजक क्लवका अध्यक्ष भक्त खवासले जानकारी दिए ।
दुई पटक तोकिएको समयमा खेल शुरु गर्न नपाएको क्लवले आर्मीसँग तिन महिनाभित्र रकम उपलब्ध गराउने कागज गरेको खवासले बताए । माघको अन्तिममा आर्मीलाई र उपविजेता चर्च ब्वाइजलाई पुस अन्तिममा पुरस्कार वापतको रकम दिने सम्झौता भएको अध्यक्ष खवासको भनाई छ । फुटबलको व्यापक दर्शक रहेको झापामा जायोन क्लवले आयोजना गरेको गोल्डकपमा निराशाजनक उपस्थिति रहेको थियो । सोचे जस्तो गोल्डकप गर्न नसकेको जायोन क्लवले लाखौं घाटा सहनु परेको छ ।
पहिलो दिन र फाइनल मै कमजोर उपस्थिति रहेको अन्नपूर्ण गोल्डकपमा अहिले विजेता र उपविजेताको रकम भुक्तानीले तनाव दिएको छ । क्लवका अध्यक्ष खवास भन्छन्, सामाजिक रुपमा हाम्रो कुरा नविकेपछि गोल्डकप सोचेजस्तो भएन । उनका अनुसार अझै १८ लाख तिरोभरो बाँकी छ । धेरै स्पोन्सर गर्नेले पनि अहिले आएर रकम नदिएको उनको गुनासो छ । २० लाख घाटा भएको बताउँदै खवासले तोकिएको समयमा खेल गराउन नसक्नु ठुलो समस्या भएको सुनाए । नयाँ र कम अनुभव भएका साथीहरुबाट खेल आयोजना भएकाले खेल सम्पन्न सुखद् नभएको उनको भनाई छ ।
झापा फुटबल संघ र अन्य खेलकुद क्षेत्रको अगुवको द्वन्द्धका कारण मनाङ र थ्रिस्टार क्लव समेत ल्याउन नसकेको आयोजक क्लवका अध्यक्ष खवास बताउँछन् । देशका चर्चित क्लवको उपस्थिति नहुनु र झापा ११ फाइनलसम्म नपुग्दा आयोजकलाई ठुलो भार परेको बताइएको छ । कार्तिक २५ गते फाइलन सम्पन्न गरेको जायोन स्पोर्टस् क्वलले हालसम्म हिसाव सार्वजनिक गरेको छैन । सबैको तिरोभरो गरेर मात्रै हिसाव सार्वजनिक गरिने आयोजकको भनाई छ ।
उपाधि विजेता र उपविजेताले शिल्ड पाए पनि हालसम्म रकम नपाएको जानकारी दिए ।