बैशाख १६, २०८१ आईतबार

धौलागिरी पारिजातको स्वागतयोग्य निर्णय

धौलागिरी पारिजातका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई सम्मान

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालकहरुलाई ऋण नदिने निर्णय गरेको छ । हालै सम्पन्न संस्थाको १६औँ बार्षिक साधारणसभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यलाई ऋण नदिने प्रस्ताव पारित गरेको हो ।

संस्थाको दीगो विकास र निरन्तरताका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यले संस्थाबाट कुनै पनि किसिमको ऋण उपभोग गर्न नपाइने निर्णय गरेको अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्ली दाहालले धौलागिरी पारिजातले गरेको उक्त निर्णय स्वागतयोग्य भएको बताए । कतिपय सहकारीमा सञ्चालक समितिले मनोमानी ढंगबाट ऋण लिने र समयमा नतिर्ने गरेकाले सहकारी समस्यामा परिरहेको बेला धौलागिरी पारिजातले गरेको यो निर्णयले संस्थाप्रति सदस्यहरुको विश्वास बढ्ने दाहालले बताए ।

कार्यक्रममा बोल्दै अतिथी हल्दिबारीका निवर्तमान जनप्रतिनिधी त्रिलोचन सापकोटाले संस्थाको बार्षिक नीति तथा कार्यक्रम सबै सदस्यहरुलाई जानकारी गराउन आग्रह गरे ।

साधारणसभामा अध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाले गत ३५ लाख ४९ हजार २४३ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको शेयर पुँजी पाँच करोड ७४ लाख ७९ हजार ४०० रुपैयाँ रहेको छ भने चालु आर्थिक वर्षमा ६ करोड १८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ ।

संस्थाको बचत ३२ करोड ११ लाख ४१ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ३८ करोड ८१ लाख ५३ हजार पुर्याउने लक्ष्य लिइएको अध्यक्षको प्रतिवेशेदनमा उल्लेख छ । यसैबीच, साधारणसभाको अवसर पारेर संस्थाले ११ जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरेको छ ।

उत्कृष्ट बचतकर्तातर्फ उपेन्द्र शाह, अनिता श्रेष्ठ, श्यामकुमार तामाङ, कल्पना बस्नेत, निशान तामाङ, तिलमाया पौडेल, इन्दिरा घिमिरे, अस्मिता सिग्देल, दिपा गड्तौला, भक्तबहादुर सुनुवार र कमला प्रधान रहेका छन् ।

त्यस्तै, उत्कृष्ट ऋणतर्फ लक्ष्मी श्रेष्ठ, निरबहादुर थापा मगर, नरेन्द्रकुमार लिम्बू, नेत्रबहादुर विश्वकर्मा, तर्कराज लिम्बू, दिपक शिवाकोटी, अञ्जु गुरुङ, बेगम कार्की, चन्द्रकला बर्देवा र हरि श्रेष्ठ रहेका छन् ।

त्यस्तै, संस्थाले उत्कृष्ट सेवाकेन्द्रको रुपमा अर्जुनधाराको सिस्ने सेवाकेन्द्रलाई पुरस्कृत गरेको छ । कर्मचारीतर्फ उत्कृष्ट सेवाकेन्द्र प्रमुख सिस्नेका मनिष आचार्य, बिर्तामोडकी सकुन्तला चौधरी, गोलधापकी तारादेवी ढकाल, जयपुरकी नर्वदा खड्का र उषादेवी राईलाई नगदसहित सम्मान गरेको थियो ।

गत असार मसान्तसम्म १२ हजार ७९५ शेयर सदस्य रहेको संस्थाले विभिन्न नौवटा सेवाकेन्द्रमार्फत कारोबार गर्नुका साथै बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ । यसैबीच, संस्थाको दुई दिनअघि सर्वसम्मत निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]