बैशाख ३०, २०८१ आईतबार

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ), ९ पुस : तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।

उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्ष पनि रु तीन करोड बराबरको सुन्तला बिक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिनुभयो ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उहाँको भनाइ थियो । यस वर्ष रु ५५ लाख बराबरको सुन्तला उत्पादन गर्नुभएका थापाले भन्नुभयो, “धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।” उहाँका अनुसार सुरुका दिनमा रु थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तला खेतीले कृषकको जीवनस्तर बदलिएको छ ।

यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रुपमा देवघाट परिचित छ । थापाले भन्नुभयो, “विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।”

स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरु पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए ।”

छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाउनुभएको छ । यस वर्ष रु दुई लाख ५० हजारको सुन्तला बेचिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।” गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रुपमा विकास भएको बताउनुभयो ।

देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि कृषकले समस्या भोगिरहेका छन् । नदी पारी रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला कृषकको गुनासो थियो ।

यहाँका कृषकले लुङ्ग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा राखेर ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।

गाउँपालिकाले सुन्तला उत्पादक कृषकलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न रु ३० लाख विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]