बैशाख २३, २०८१ आईतबार

कर्णाली सहकारी बिर्तामोडका सचिव र तत्कालिन लेखा संयोजकलाई तत्काल निलम्बन गर्न माग

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले संस्थाका सचिव भुपाल बस्नेत र तत्कालिन लेखा समिति संयोजक राम कुमार गौतमलाई यथाशिघ्र निलम्बन गर्न माग गरेका छन् । उनीहरुले संस्थाको जिम्मेवार ठाउँमा बसेर आर्थिक अनुशासन पालना नगरेको आरोप लगाउदै पुस ५ गते छानविनसहित कारबाहीका लागि सञ्चालक समितिलाई निवेदन दिएका छन् ।

सञ्चालक समितिलाई निवेदन बुझाएका सदस्यहरुले झापा जिल्ला सहकारी संघ र प्रदेश रजिष्टारलाई बोदार्थ पठाएका छन् ।

सदस्यहरुले हस्ताक्षर सहित बुझाएको निवेदनमा स्वास्थ्य शिविरमा बचेको रकम व्यक्तिगत खातामा राखेको आरोप छ । सदस्यहरुले दिएको निवेदन अनुसार तत्कालिन कोशी प्रदेशका सांसद बसन्त बानियाँले आर्थिक वर्ष ०७८÷७९ को बजेटबाट कर्णाली सहकारीलाई बनियाँनी क्षेत्रमा चेतना मुलक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

सो रकम कचनकवल गाउँपालिका मार्फत ०७९ असार २० गते प्राप्त भई कर्णाली सहकारीका सचिव भुपाल बस्नेतको संयोजकत्वमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिकाले कर्णाली सहकारीको गरिमा विकास बैंकको खातामा पैसा जम्मा गरेको थियो ।

प्रदेश सरकारबाट प्राप्त २ लाखमध्ये गाउँपालिकाले १.५ प्रतिशत टिडिएस काटेर १ लाख ९७ हजार रुपैयाँ संस्थाको खातामा जम्मा गरेको थियो । सो रकममध्येबाट शिविरमा १ लाख ३६ हजार ८ सय २० रुपैयाँ खर्च भएको हिसाव फेला परेको छ । खर्च गरेर बाँकी रहेको ६० हजार १ सय ८० रुपैयाँ रकम संस्थाका सचिव बस्नेतले सहकारी मै रहेको आफ्नो खातामा जम्मा गरेको प्रमाण भेटिएको छ । कार्यक्रम सञ्चालनका लागि संस्थागत निर्णय समेत नगरी बाहिर–बाहिर रकम लिने र खर्च गर्ने काम भएको निवेदन सदस्यहरुले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा खर्च भई बाँकी रहेको रकम संस्थाको खातामा जम्मा हुनुपर्नेमा व्यक्तिको खातामा जम्मा गरिएको भन्दै सदस्यहरुले छानविनको माग गरेका हुन् । सदस्यहरुले तत्कालिन लेखा समिति संयोजक गौतमले समेत शिविरको हिसावबारे वेवास्था गरेको भन्दै उनलाई पनि बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् । गौतम अहिले उपाध्यक्षको उम्मेदवार बनेका छन् भने बस्नेत पुनःसचिवमा सर्वसम्मत भइसकेका छन् ।

उक्त विषयमा छानविन नगरी जवरजस्त पेलेर जान खोजेमा सदस्यहरुले कानुनी उपचारको बाटो रोज्ने चेतावनी समेत दिएका छन् ।
कर्णाली सहकारीका अध्यक्ष टस बहादुर प्रधानले सदस्यहरुबाट निवेदन प्राप्त भएको जानकारी दिए । उनले यस सम्बन्धमा छलफल गर्न मंगलवार बोर्ड बैठक बोलाइएको बताए । बोर्ड बैठकले उजुरीका सन्दर्भमा छानविन गरेर अघि बढ्ने अध्यक्ष प्रधानको भनाई छ । उनका अनुसार बचेको भनिएको रकम संस्थाको खातामा जम्मा नभएको स्वीकार गरे । उनले नियम अनुसार संस्थाको रकम संस्थाकै खातामा जम्मा हुनुपर्ने बताएका छन् । उनका अनुसार उक्त कार्यक्रममको जिम्मेवारी सचिव बस्नेत र स्थानीय कुमारी खड्कालाई दिइएको थियो ।

तत्कालिन लेखा समितिका संयोजक गौतमले यस घटनाका बारे अध्यक्ष ज्यूसँग अनुमति लिएर मात्रै कुरा गर्न मिल्ने प्रतिक्रिया दिए । उनले अध्यक्ष ज्यूको अनुमति बोल्न ठिक नहुने बताए ।

यस्तै, सदस्यहरुले आरोप लगाएका संस्थाका सचिव बस्नेतले आफु काठमाडौंमा रहेको र झापा आएर पत्रकार सम्मेलन मार्पmत सबै सार्वजनिक गर्ने जानकारी दिए । उनले नीतिगत रुपमा उक्त रकम व्यक्तिको खातामा जम्मा गर्न नहुने स्वीकार गरे ।

बस्नेतले भने – कर्णाली सहकारीको क्यान्सर ट्रष्टको नाममा माननीयले बजेट दिनुभएको हो । तर, त्यस बेला ट्रष्टको नविकरण नभएकाले सहकारीको नाममा बजेट ल्याएर काम गरेको जानकारी दिए ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]