बैशाख ३१, २०८१ सोमबार

अब पुरानोशैलीले व्यापार टिक्दैन : पूर्वअर्थमन्त्री पाण्डे

बिर्तामोड । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानोशैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । उनले व्यापारमा आधुनिकशैली अपनाउनुपर्ने बताए ।

झापाको बिर्तामोडमा आज आयोजित बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा सम्बोधन गर्दै व्यापारमा पुरानैशैली भएका कारण व्यापार क्षेत्र फस्टाउन नसकेको बताए । उनले व्यापारमा नयाँ खोज अनुसन्धान गरेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले व्यापार गर्ने र खरिद गर्ने उमेर समूह देश बाहिर पलायन भइरहेको उनको भनाई छ । सबैभन्दा धेरै खर्च गर्ने युवाहरु विदेशमा छन्, यहाँ कसरी व्यापार हुन्छ ? उनले भने – देशमै बस्ने वातावरण बनाउन सक्नुपर्छ । देशमा व्यापारको वातावरण बनाउनुपर्छ, देशमा रोजगारको अवसर सिर्जना गर्नुपर्छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले केन्द्र, प्रदेश र स्थानीय सरकारले आर्थिक गतिविधि बढाउने गरी काम गर्नुपर्ने बताए । सिफारिस दिएर मात्रै जनप्रतिनिधिको जिम्मेवारी पुरा नहुने भन्दै पाण्डेले आ–आफ्नो ठाउँको आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकारको भूमिका हुने बताए । तीनै तहको सरकारले व्यापार बढाउने, आम्दानी वृद्धि गर्ने गरी योजना निर्माण गर्नुपर्ने उनको भनाई थियो । पाण्डेले जनतालाई धनी बनाउने काम सरकारको हुने भन्दै उनले काम गर्ने वातावरण नभएपछि युवाहरु विदेसिएको बताएका छन् । नेपालीहरु विलगेट्स बन्न विदेश गएका होइनन्, काम गर्न गएका हुन् । यहाँ काम गर्ने वातावरण हुने हो भने युवा विदेश जादैनन्, उनले भने । व्यापारीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले रोजगार दिन सक्नेहरु मात्रै देशभक्त हुने बताएका छन् ।

यस्तै, एमाले नेता पाण्डेले कृषि र उद्योग क्षेत्रमा हदवन्दी हटाउनुपर्ने बताए । कृषि उद्योग क्षेत्रमा लागत धेरै भएकाले कृषिबाट टाढा बन्नुपर्ने अवस्था आएको बताए । स्थानीय सरकारले कृषि क्षेत्र मार्फत समृद्धि हासिल गर्न जमिनको पूर्ण उपयोग नीति ल्याउनुपर्ने बताएका थिए । जमिन बाँझो राख्न दिन हुदैन, त्यसका लागि स्थानीय सरकारको ठुलो सहयोग चाहिन्छ, उनले भने – आयात गर्नुपर्ने कृषिवस्तुको उत्पादन गर्न सकियो भने देश पनि समृद्ध हुन्छ । रोजगारको वातावरण पनि बन्नेछ ।

उनले देशको मुख्य एजेन्डा कर्मचारी क्षेत्रमा सुधारको खाँचो भएको बताएका छन् । कर्मचारी क्षेत्रमा सुधार नल्याएसम्म देशमा समस्या कायम रहने धारणा व्यक्त गरे । उनले लोकसेवाबाट धेरैले पास गर्दैमा देश समृद्ध नहुने भन्दै समृद्धिको लागि कृषि, उधोग व्यापार नै गर्नुपर्ने बताए । उनले देशको परिस्थिति आर्थिक रुपमा समस्याग्रस्त भएको बताउदै कसो गरे देश बन्द, सबै त्यतै लाग्नुपर्ने जिकिर गरे ।

सरकारको एक वर्षको कार्यकाल बारे टिप्पणी गर्दै उनले पुँजीगत खर्च नभएकाले सबै क्षेत्र चौपट भएको बताए । सरकारी निर्माण क्षेत्र ठप्प छ, ठेक्का लाग्न सकेको छैन । ठेक्का लगाउन पहिलो चरणमा दिइने १० प्रतिशत खर्च दिन नसक्ने सरकारको अवस्था छ । ऋणबाट कर्मचरीको तलव खुवाउने परिस्थितिको सामना गर्नु परेको उनको भनाई थियो ।

सोही अवसरमा बिर्तामोडका पुराना व्यवसायी हनुमान मित्तल र हरि आचार्यलाई सम्मान गरिएको महासंघका अध्यक्ष युवराव निरौलाले जानकारी दिए ।

अध्यक्षमा मैनालीको उम्मेदवारी
बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुन कुमार मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् । उनले स्वतन्त्र व्यवसायीक प्यानलको नेतृत्व गर्नेछन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले बुधबार बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवार घोषणा गरेका हुन् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो । पाण्डेले बिर्तामोड सम्पन्न बनाउका लागि उम्मेदवार मैनालीलाई सूझाव दिए । बिर्तामोडमा व्यापार क्षेत्रको समृद्धिका लागि वाणिज्य संघको भूमिका हुने बताउदै उनले सोहि अनुसार काम गर्न आग्रह गरे ।

अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति विश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले अहिलेको वाणिज्य संघले कांग्रेसको भातृ संस्थाको भूमिका मात्रै निर्वाह गरेको बताए । व्यापारीको पक्षमा काम गर्न नसकेपछि संघ प्रति विश्वास घट्दै गएको उनको आरोप छ । मेरो नेतृत्वको वाणिज्य संघले व्यापारीको निराशालाई अन्त्य गर्ने छ, मैनालैले भने – ‘बिर्तामोडको व्यापार क्षेत्रलाई सदृढ र सुरक्षित बनाउनेछु । आउँदो निर्वाचनमा विजयी गराएर सहयोग गर्न अपील गर्दछु ।’ संघको निर्वाचन फागुन १४ गते हुदैछ ।

प्रकाशित मिति : पुष ११, २०८० बुधबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]