बैशाख २६, २०८१ बुधबार

शिवसताक्षीका किसान तोरी खेतीमा आकर्षित

सरोज भट्टराई

शिवसताक्षी । पछिल्लो समय शिवसताक्षीका किसानहरुमा तोरी खेतीको आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिएको छ । अनुदान प्राप्त हुने भएपछि कृषकहरुले तोरी खेतीलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
तोरी खेतीलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन भने संघीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । शिवसताक्षी नगरपालिकाले तोरी खेतीका लागि १० लाख अनुदान दिइएको छ ।

शिवसताक्षी नगरपालिकाले गएको कार्तिक महिना मै तोरी खेतीमा अनुदान दिने सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले १० विगाह क्षेत्रफलमा तोरी लगाउने कृषकलाई ७५ प्रतिशत अनुदान दिने जनाएको छ ।

हाल नगरपालिकामा तोरी खेतीका लागि १६ समूहबाट निवेदन परेका छन् । नगरपालिकाले छनौटमा परेका १० ओटा समूहलाई अनुदान दिने शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए ।

शिवसताक्षीको ४,५ वडामा तोरी खेतीका लागि मुख्य हव मानिएको छ । कनकाई सिचाईको कारणले पनि तोरी खेतीका लागि नगरका दक्षिणी क्षेत्रका वडाहरु रहेको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ ।

हाल नगरपालिको वडा न.२, ३,४,५,८,९ र १० मा सामुहिक तोरी खेती गरिएको छ । नगर क्षेत्र भित्र १ सय विगाहमा सामुहिक तोरी खेती गरिएको शिवसताक्षीका कृषि स्नातक प्राविधिक लेनिन शमशेर कुँवरले जानकारी दिए । उनका अनुसार नगरक्षेत्र भित्रका हिमाली कृषक समूह, पाथिभरा कृषक समूह, आस्था कृषक समूह, सयपत्री कृषक समूह, गप्तेश्वर कृषक समूह, पाथिभरा कृषक समूह, जनजागरण कृषक समूह, नहरचोक कृषक समूह र अमर कृषक समूहले १०-१० विगाहमा तोरी खेती लगाएका छन् ।

अनुदान रकम १० लाख मध्ये नगरपालिकाले तोरी खेतीका लागि प्रति समूह तोरी प्रवद्र्धन कार्यक्रममा १ लाख अनुदान दिइएको हो ।

शिवसताक्षी नगरपालिकामा १० हजार हेक्टर खेती योग्य जमिन रहेको । जसमा ७ हजार हेक्टरमा किसानहरुले खेती लगाउने गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा समूह भन्दा बाहिर व्यक्तिगत रुपमा पनि किसानहरुले उल्लेख्य मात्रामा तोरी खेती गरेका छन् । त्यो तथ्यांक नगरसँग छैन ।

झापामा तोरी खेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरी खेती गरिएकोमा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।

गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यस वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरी खेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, शिवसताक्षी, दमक, मेचीनगर, बुद्धशान्ति लगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ ।
गत वर्षको सुरुआतमै पाँच हजार चार सयमा प्रतिमन ४० किलो बिक्री भएको तोरी यस वर्ष करिब छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति आकर्षित भएका हुन् ।

प्रकाशित मिति : पुष १६, २०८० सोमबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]