बैशाख २४, २०८१ सोमबार

कनकाईको १५ औं नगरसभाः नगरवासीको हितमा एकजुट हुने जनप्रतिनिधिको प्रतिवद्धता

कनकाई । झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् ।

समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा शुक्रबार भएको १५औंं नगरसभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् । यसै अवसरमा ९ वटै वडाका वडाअध्यक्षहरु क्रमशः सुशिलकुमार पोखरेल, बलराम राई(प्रताप), युवराज चम्लागाईँ, रोशन सुवेदी, नगर प्रवक्ता समेत रहेका कृष्णवहादुर राई, दिर्घवहादुर थापा, भिष्म सिटौला, लीलाबहादुर कटुवाल, राजेन्द्र उप्रेतीले क्रमैसँगले आ—आफ्नो धारणा राखेका थिए ।

नगर सभामा नगरपालिकामा रहेका नौवटै वडाका वडाअध्यक्षहरुले वडाको बजेट संशोधन सहित विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा साथै काम गर्दाको समस्या सहितको मन्तव्य राखेका थिए ।

नगर सभालाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पछिल्लो समय तथ्य कुरा नबुझी जनप्रतिनिधिका विरुद्धमा केही व्यक्ति एवं समूहबाट सामाजिक संजालहरुमा आएका अभिव्यक्तिका विषयमा कनकाई नगरपालिकाले हदैसम्मको लचिलो भएको विषयलाई कमजोर नठान्न आम नगरबासीलाई अपिल गरेका छन् ।

समृद्धिसँग जोडिएको कनकाई नगरपालिकासँग सम्बन्धित विकास निर्माण सहितका हरेक योजनाका विषयमा सुक्ष्म रुपमा अध्ययन गरेर मात्र सकारात्मक एवं रचनात्मक सुझाव राख्न आम नगरबासीलाई नगरप्रमुख पोखरेलले सुझाव दिए । कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी सहित नगरपालिकाका सबै वडाका अध्यक्षहरुले एकै स्थानबाट ऐक्यबद्धता जनाउँदै कनकाई नगरपालिका साथै नगरबासीका बिरुद्धमा आउने जस्तोसुकै परिस्थितीलाई पनि चिरेर अघि बढ्ने बताइन् ।

नगरको समृद्धिका लागि सम्पूर्ण जनप्रतिनिधिहरु एक ढिक्कामा रहेको भन्दै कनकाईका जनप्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट थप सशक्त भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।

नगरपालिकामा भएको सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै नगरको समृद्धिको यात्रामा आफ्नो सम्पूर्ण समय बिताउँदै आएका जनप्रतिनिधिले नगरवासीको हितका लागि कुनै पनि कसुर बाँकी नराखेको बताएका छन् । नगरपालिकाबाट भएका सबै योजनाहरु कार्यपालिकाको निर्णयबाटै हुँदै आएको बताइएको छ ।

स्थानीय तहले आर्थिक वर्षको सुरुवातमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको ६ महिना भित्र अर्को नगरसभा गर्नुपर्ने व्यवस्था भए अनुसार कार्यक्रम आयोजना गरिएको नगर सभाका सचिव समेत रहेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए । सोही अनुरुपको नगर सभामा यस अघि विनियोजित बजेटमा केही हेरफेर साथै सम्पन्न कामको समीक्षा भएको प्रमुख प्रशासकीय अधिकृत खरेलले बताए ।

कार्यक्रममा कनकाई नगरपालिकाको लेखा समिति संयोजक कनकाई वडा नं.७ का वडा सदस्य भगन टुडु मार्फत नगरपालिकाको लेखा शाखाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले स्थानीय तहमा विभिन्न कारणबाट देखिने बेरुजुका विषयमा प्रष्ट पारेका थिए । यसका साथै कनकाई नगरपालिकाको यस अघिका आर्थिक वर्षहरुमा भएको बेरुजु फछर््यौटका विषयमा समेत जानकारी गराइएको थियो । नगर सभाका सचिव खरेलले सहजीकरण गरेको कार्यक्रममा हाल केही अस्वस्थ रहेका नगर सभा सदस्य एवं वडा नं.६ का वडाअध्यक्ष दिर्घवहादुर थापाको शिघ्र अनि पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।

प्रकाशित मिति : पुष २१, २०८० शनिबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]