बैशाख १७, २०८१ सोमबार

प्रविनले जिते पूर्वाञ्चल गट ट्यालेन्ट

बिर्तामोड । गायक तथा सञ्चारकर्मी प्रविन बिसीले पूर्वाञ्चल गट ट्यालेन्ट सो सिजन तीनको उपाधि जितेका छन् ।

गायक बिसी टिन्स क्रियु डान्स सेन्टर धनकुटाद्वारा आयोजित रियलिटी सो पूर्वाञ्चल गट ट्यालेण्ट सो सिजन तीनको गायन तर्फको उपाधि जित्न सफल भएका हुन् । धनकुटाको टुँडीखेलमा भएको कार्यक्रममा उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ र पाँच लाख बराबर जीवन बीमाको प्रिमियम समेत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो धनकुटाकी आकृति लिम्बू र तेस्रो संखुवासभाका जयराज विश्वकर्मा भएका छन् । दोस्रो हुनेलाई दुई लाख बराबरको जीवन बीमाको प्रिमियम, आकर्षक उपहार र तेस्रो हुनेलाई आकर्षक उपहार पुरस्कार प्रदान गरिएको छ । विजयीमध्ये एकजनालाई सिंगापुर भ्रमणको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै नृत्यतर्फ प्रथम मोरङकी अलिषा राई , दोस्रो धनकुटाका विशेष गुरुङ र तेस्रो सुनसरीकी अलिषा ल्वागुन भएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए । उनका अनुसार यसअघि प्रतियोगी छनौटका लागि बिर्तामोडलगायत पूर्वाञ्चलका विभिन्न पाँच ठाउँमा अडिसन सम्पन्न भएको र ती स्थानहरुमा पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो । दुवै विधाको पुरस्कार बराबर रहेको छ ।

अन्तिम चरणमा गायन तर्फ १७ जना र नृत्य तर्फ १८ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिताको मुख्य निर्णायकमा कुन्ति मोक्तान, अशोक मुकारुङ, सूर्य वलिङ, बुद्ध लिम्बूलगायत रहेको संयोजक योगीले बताए । गाउँघरमा लुकेर रहेका प्रतिभाको खोजी गरी उजार गर्ने उदेश्यका साथ सञ्चालित रियलिटी सो आगमी वर्षदेखि राष्ट्रिय स्तरमा सञ्चालन गर्ने योजना रहेको आयोजकले बताएको छ ।

इलामको सूर्योदय नगरपालिका १३ निवासी २२ वर्षीय गायक बिसी आगन एफएम बिर्तामोडमा कार्यरत छन् । हालै उनको ‘भुल्न गारो भो’ बोलको गीतको भिडियो सार्वजनिक भइसकेको छ । विजयी भएपछि गायक बिसीले आफ्ना सहयोगी, समर्थक सबैलाई आभार व्यक्त गर्दै सधैं सबै दर्शक तथा स्रोताको साथ, सहयोग र माया प्राप्त भइरहने अपेक्षा गरेका छन् । उनले यसबाट सांगीतिक क्षेत्रमा अझ अघि बढ्न हौसला र उत्साह थपिएको बताए ।

प्रकाशित मिति : पुष ८, २०७६ मंगलबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]