बैशाख २४, २०८१ सोमबार

कनकाईका हिंसा पीडित महिलालाई अनुदान सहयोग

चन्द्र बस्नेत

कनकाई । लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप सहयोग गर्न अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ ।

लामो समयदेखि परिवारबाट नै हिंसामा परेका नगरका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सञ्चालन गर्दै जिविकोपार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् ।

कनकाई ९ कि रचना प्रसाईं बिगत ९ वर्ष देखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्ध बिच्छेद् गरि झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षासहित पालनपोषण गर्दै व्यवसाय अगाडी बढाउदै गर्दा नगरबाट प्राप्त ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउदै लैजाने प्रतिवद्धता जनाइन् ।

त्यस्तै कनकाई ९ कै कमला भुसालले पनि श्रीमानको हिंसा सहन नसकेर पाँच वर्षअघि सम्बन्ध बिच्छेद गरि घैलाडुब्बा बजारमा पार्लरको व्यवसाय सञ्चालन गर्दै आएको बताइन् ।

एक छोराकी आमा समेत रहेकी कमलाले यहीँ व्यवसायबाट दुःखले जिवनयापन गर्दै आएको सुनाइन् । नगरबाट प्राप्त ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउदै लैजाने उनले पनि प्रतिवद्धता जनाएकी छन् ।

नगद रकम पाउने पारिवारिक हिंसा पीडित महिलाहरुमा कनकाई २ बाट मिना भुजेललाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ , कनकाई ३ कि पार्वता विमलीलाई खाद्यन्नका लागि १० हजार रुपैयाँ , कनकाई २ कि विना लिम्बुलाई औषधि उपचारका लागि १० हजार रुपैयाँ, बालकुमारी बजगाईलाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ र कनकाई १ कि सहना माझीलाई औषधि उपचारका लागि २० हजार रुपैयाँ उपलब्ध गराईएको कार्यक्रम संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको तर्क राखिन् । उनले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

कार्यक्रममा न्यायीक समिति सदस्य नवलकिश्वर दत्त, कार्यपालिका सदस्य कृष्णमाया भुजेल लगायतले मन्तव्य राख्दै पारिवारिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तथा सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख खतिवडाले गरेकी थिइन् । सोही कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा समेत प्रदान गरिएको थियोे ।

प्रकाशित मिति : पुष २५, २०८० बुधबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]