बैशाख २८, २०८१ शुक्रबार

‘सहकारी विरोधीहरुको विरुद्धमा सहकारीकर्मीले विद्रोह गर्नैपर्छ’

बिर्तामोड । झापाली सहकारीकर्मीहरुको बीचमा बुधबार विद्रोहका लागि तयार हुनुपर्ने आवाज उठेको छ । सहकारीका केहि अभियान्ताहरुले सहकारी विरुद्ध नियोजित रुपमा षडयन्त्र भइरहेकोले त्यसको प्रतिकारका लागि तयार हुनुपर्ने बताए ।

मुलुकको परिवर्तनमा सहकारी आन्दोलनको महत्वपूर्ण योगदान भएको बताउदै झापा जिल्ला सहकारी सहकारी संघका सल्लाहकार दुर्गा प्रसाद सापकोटाले सहकारीकर्मीले ज्यादती सहन नहुने बताए । उनले विगतमा सहकारीको विरुद्धमा लाग्नहेरु नै अहिले सहकारी विरोधी अभियानहरु सञ्चालन गरिरहेको बताए । सापकोटाले हिजोको लुटाहाहरु नै आज फेरि लुट्ने हिसावले प्रस्तुत भइरहेको बताए । उनले सबै सहकारीहरुलाई एकै नजरमा राख्न नमिल्ने धारणा व्यक्त गरेका छन् । उनले संसदमा सहकारी विरुद्ध भइरहेका गतिविधि विरुद्ध कसैले आवाज नउठाएको आरोप समेत लगाए । उनले कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री प्रदेश सांसद एकराज कार्की सामुन्ने संसदमा सहकारीका विषयमा आवाज उठाइदिन आग्रह गरे ।

व्यवस्था विरोधीहरु नै सहकारीको पनि विरोध जनाइरहेको भन्दै सापकोटाले सहकारीकर्मीलाई गलत गर्नेहरुका विरुद्ध विद्रोह गर्न जरुरी रहेको बताएका छन् ।

प्रमुख अतिथि कार्कीले सरकारले सहकारीको निम्ति गर्नुपर्ने काम गर्न नसकेको बताए । उनले तीन खम्बे मध्येको एक खम्बा सहकारीलाई भने पनि मुल खम्बा सहकारी भएको धारणा राखेका थिए । सरकारभन्दा बलियो सहकारी क्षेत्रलाई सरकार पक्षले आवश्यक सहयोग र सहजीकरण गरेर जानुपर्ने उनको भनाई थियो ।

सहकारी विरुद्धका अभियानहरु कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले गलत गर्नेहरु कानुनी कारबाहीमा लानुपर्ने धारणा राखे । पूर्वमन्त्री कार्कीले सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रित रहेको भन्दै उत्पादनमा लाग्न आग्रह गरेका छन् । विशेष गरेर कृषि उत्पादन र बजारीकरणमा सहकारीको योगदान हुनुपर्ने उनको भनाई थियो ।
बिर्तामोडमा सम्पन्न संघको २७ औं बार्षिक साधारसभामा बिभिन्न बिधामा ११ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । संस्थाले २०७९ चैत २० गते ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा घोषणा गरिएका बिधाका पुरस्कार तथा सम्मान बितरण गरेको हो ।

सम्मान तथा पुरस्कृत हुनेमा झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल छन् । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

पूर्व सञ्चालक सम्मानबाट देबीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार गोबिन्दचन्द क्षेत्रि, उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्धार साकोस, उत्कृष्ट बचत कारोवारका रुपमा कमलको नवोदय बहुउद्देश्यीय, उत्कृष्ट कर्जा कारोवारका रुपमा हल्दिबारीको हाम्रो गोलधाप कृषि सहकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानित ब्यक्ति तथा संस्थालाई जनही १० हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट ब्यवस्थापक महिला तर्फ दमकको नवदुर्गा बहुउद्देश्यीय सहकारीकी धनकुमारी पौडेल र पुरुषतर्फ गौरदहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीका तिलक कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । उत्कृष्ट पालिका समन्वय समितिका रुपमा गौरीगञ्ज पालिका सहकारी समन्वय समितिलाई सम्मान गरिएको छ ।

उपाध्यक्ष महेन्द्र कुमार गिरीले स्वागत गरेको कार्यक्रम संस्थाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : पुष २६, २०८० बिहीबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]