बैशाख २१, २०८१ शुक्रबार

सिम्रिक साकोसद्वारा बाह्रदशीका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट

बिर्तामोड । बाह्रदशी गाउँपालिका -१ स्थित भागुडुब्बामा विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराइएको छ ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा १ सय जना बढी ज्येष्ठ नागरिकलाई न्यानो ब्लाङ्केट वितरण गरिनुका साथै मिष्ठान्न भोजन गराइएको हो ।

सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा एक कार्यक्रमको आयोजना गरी झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लिङ्देनले सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन ब्लाङ्केट सहयोग गरिएको भन्दै सिम्रिक साकोसलाई धन्यबाद दिए ।
उनले भने,‘सरकारले गर्ने काम एउटा सहकारी संस्थाले गरिरहेको छ । यस पवित्र कार्यलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, यो एक पुण्य काम पनि हो ।’ उनले मनकारी संस्थाप्रति आभार पनि प्रकट गरे ।

पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर ब्लाङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।
संस्थाको कार्यक्षेत्र हल्दीबारी, बाह्रदशी तथा कचनकबलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी ब्लाङ्केट वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

उनले त्यसै गरी सदस्य बिरामी हुँदा संस्थाले बिर्तामोडको मनमोहन अस्पताल, कन्काई, ओमसाई तथा नोबेल शिक्षण अस्पतालमा उपचार गराउंदा २० प्रतिशत सम्म छुट हुने कार्यकारी प्रमुख बस्नेतले बताए ।

‘हाम्रो सानो सानो सहयोगले न्यानो ब्लाङ्केट नभएर कठ्याङ्ग्रिएर रात काट्न विवश विपन्न परिवारका ज्येष्ठ नागरिकलाई यो जाडोमा न्यानो हुन्छ भनेर ब्लाङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

अन्य वित्तीय संस्थाभन्दा सिम्रिक सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सिम्रिक सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको उल्लेख गरे ।

बाहिर निस्कदा एकसरो न्यानो कपडा भएपनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा जेष्ठ नागरिक कठ्याङ्ग्रिन थालेको र स्वास्थयमा समेत असर पुग्ने अवस्थालाई ध्यानमा दिंदै सिम्रिक साकोसले सहयोग गरेको भन्दै कार्यक्रमको बिशिष अतिथि प्रदेशसभा सदस्य निमसरी राजवंशीले संस्थाको प्रशंसा गरिन ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत सहित औचित्माथि प्रकाश कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका विभागीय बिजय बस्नेतले गरेका थिए ।

कार्यक्रममा बाह्रदशी गाउंपालिका ५ का वडाध्यक्ष लोकनाथ संग्रौला, मानवीय उद्धार सेवा केन्द्र नेपालका अध्यक्ष धनबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]